प्रदेश दुई सरकारमा माओवादी केन्द्र सहभागी हुने, शनिबार शपथ

जनकपुरधाम । प्रदेश दुई सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादी केन्द्रका तर्फबाट शनिबार एक मन्त्री र एक राज्यमन्त्रीमा शपथ लिन लागेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहका अनुसार संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय पनि भइसकेको छ ।

उनीहरूले शनिबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने तय भएको छ । तर, मन्त्रालयको अझै टुङ्गो लागेको छैन । यद्यपि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमति भएको छ ।

जसपाबाट मन्त्री बनेका एक मन्त्रीलाई राजीनामा दिलाएर माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन लागिएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *