म्याग्दी, असार ३१ । जनता आवास कार्यक्रमबाट घर बनाएकी बेनी नगरपालिका–५ पुलाचौरकी टीकाकुमारी सार्कीको थाप्लोमा ऋण थुपारिएको छ। घर बनाइसके पनि सार्की अन्तिम भुक्तानी नपाउँदा समस्यामा परेकी हुन्। उनले सरकारले थोपरिदिएको ऋण चुक्ता गर्न नसक्ने अवस्थामा रहेको बताइन्।
सार्कीसँगै पुलाचौरकै सर्वे दमाई पनि घर निर्माणका क्रममा ऋणमा डुबेका छन्। अनुदानको आसमा घर निर्माण सके पनि दमाईले तेस्रो र अन्तिम किस्ता पाएका छैनन्। ‘ऋण खोजेर घर बनाएको छु, अहिले तिर्न नसक्ने अवस्था भएपछि समस्या भएको छ,’ दमाईले भने।
उनले ज्याला मजदुरी गरेर समेत ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै छिट्टो अनुदानको बाँकी किस्ता उपलब्ध गराइदिनसमेत अनुरोध गरे। गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा जनता आवास कार्यक्रममार्फत घर निर्माण गरेका गत र चालु आवमा करिब डेढ सय आवासविहीन विपन्न दलित समुदाय ऋणको भारीले थिचिएका छन्।
सरकारले घर बनाउन पैसा दिने भनेपछि हौसिएका विपन्न वर्ग सरकारी निकायको कमजोरीले झन् गरिबीमा धकेलिएको छ। जग खनेपछि पहिलो किस्ता तथा डिपिसी र गाह्रो लगाएपछि दोस्रो किस्ता, तेस्रो किस्ताले छाना र झ्याल राख्नुपर्ने तथा चौथोले चर्पी बनाउनुपर्ने सम्झौताअनुसार नै पीडितले सरकारी अनुदान आउने आसमा ब्याजमा ऋण खोजेर घर बनाएका थिए। नागरिक दैनिकबाट