पन्ध्र जिल्लाका १२६ बस्ती जोखिमयुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगले अध्ययन गरी १५ वटा हिमाली जिल्लाका जोखिमयुक्त बस्ती पहिचान गरेको जानकारी दिए। जोखिमयुक्त पहिचान भएका ती बस्तीलाई भौगोलिक दृष्टिकोणले सुरक्षित ठाउँमा स्थानान्तरण गरी एकीकृत बस्ती निर्माण गर्ने अवधारणासहित आयोगले ती ठाउँको पहिचान गरेको उनले बताए ।

आयोगका सदस्य तथा सो अध्ययन कार्यदलको संयोजक डा कृष्णप्रसाद ओलीले जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न दार्चुलादेखि ताप्लेजुङसम्मका १५ वटा हिमाली जिल्लाका १२६ वटा ठाउँको पहिचान गरिएको जानकारी दिए । आयोगले चालू आर्थिक वर्षमा सो अध्ययन गरेको हो ।

त्यसैगरी सो जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गरी एकीकृत बस्ती निर्माणका लागि ती १५ वटा जिल्लामा नै २८ स्थानको पनि पहिचान भएको छ । ती स्थानलाई ‘ग्रोथ सेन्टर’का रूपमा विकास गर्ने आयोगको अवधारणा छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *