नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: भौतिक निर्माण १५.९ प्रतिशत सम्पन्न

काठमाडौं। कोभिड महामारीका कारण राष्ट्रिय गौरवका कतिपय आयोजना नराम्ररी प्रभावित भइरहेका बेला नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम भने धमाधम अघि बढेको छ । संक्रमणको सम्भाव्य जोखिम रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको आयोजनाले बताएको छ ।

सुरुङमार्ग निर्माणमा केही विदेशी, ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदूर परिचालन भएकोमा हालसम्म आयोजनाको समग्र भौतिक प्रगति १५ दशमलव ९ र आर्थिक प्रगति २५ दशमलव ५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

काठमाडौंंको बलम्बुस्थित तोतीपाखाबाट शुरू भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको बताइएको छ । लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ २ महीनाभित्रै सम्बोधन हुने तथा विगतमा ६ मिटर खनिँदै आएकोमा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ ।

जग्गाको मुआब्जा ६ अर्बसहित करीब २२ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको २ दशमलव ६९ किलोमिटर लामो यो सुरुङमार्ग २०८० वैशाख १३ ९सन् २०२३ अप्रिल २६०अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *