काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल सदस्यले आज आइतबार एकता घोषणा हुने बताएका छन् । सिंहदरबारमा शनिबार लामो छलफलमा बसेका कार्यदल सदस्यले प्रायः सबै विषयमा सहमति भइसकेकाले आजै अन्तिम रूप दिइने बताएका छन् ।
एमाले सचिव तथा कार्यदल सदस्य गोकर्ण विष्ट कार्यदलले प्रायः विषयमा सहमति जुटाइसकेकाले आज एकता घोषणा हुने दाबी गरेका छन् । ‘एमाले एकता घोषणा गरेर आमकार्यकर्तालाई आज सुखद अनुभूति दिने छौं,’ एमाले सचिव विष्टले भने, ‘हाम्रो लामो समयसम्मको छलफल र संवादका कारण एमाले अब एकजुट हुने विश्वास गरेका छौं ।’ कार्यदलले शनिबार नै एकता घोषणा गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक विषयमा छलफल गर्नुपर्ने भएकाले एकता घोषणा सहमतिसहित कार्यदल बैठक सकिएको हो ।
शनिबार नै पूर्ण रूपमा सहमति खोजेर एकता घोषणा तयारी गरे पनि अन्तिम अवस्थामा आएर त्यसो हुन नसकेको एमाले निकट स्रोतले जनाएको छ ।
सबै विवादबारे छलफल गरेर सहमति जुटाइसकेकाले केही मिल्न बाँकी विषयमा सहमति गरेर आज अन्तिम रूप दिने तयारी भईरहेको छ । ।