गोरखाको भीमकुल बचत सहकारीको ३२ लाख चोरी

गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराति करिब ३२ लाख नगद चोरी भएको छ । मध्यरातमा सहकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए ।

सहकारीमा कारोवार भएको रकम करिब ५२ लाखमध्ये ३२ लाख चोरी भएको उनले बताए । “भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो”, उनले भने, “यहाँ दैनिक २० देखि ३० लाख कारोवार हुन्छ ।” असार मसान्त भएकाले कारोवार अझ बढी भएको उनको भनाइ छ ।

“शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ”, श्रेष्ठले भने, “लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।” सिसिटिभी फुटेजमा चोरीमा संलग्नले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री बोकेर आएको देखिएको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *