USAID

२८ वर्षपछि अर्जेन्टिनालाई उपाधि दिलाउने दाउमा मेस्सी

  • 1.7K
    Shares

प्रज्जवल थापा । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनल खेलमा आइतबार ब्राजिलको सामना गर्दैछ । यस खेलमा अर्जेन्टिना २८ वर्षपछि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

अर्जेन्टिनाले सन् १९९३ मा कोपा जितेदेखि हालसम्म उपाधि जित्न सकेको छैन । यता टोलीका कप्तान लियोनल मेस्सी आफैपनि अन्तराष्ट्रिय उपाधि विहिन रहँदा दुवै मेस्सी र अर्जेन्टिनाको लागि आइतबार हुने फाइनल निकै महत्त्वपूर्ण रहेको छ । त्यसैले मेस्सी आफ्नो र अर्जेन्टिनाको उपाधि खडेरी तोड्ने लक्ष्यसाथ अगाडि बढिरहेका छन् । सेमिफाइनलसम्मको यात्रामा ४ गोल गर्दै ५ एसिस्ट दिएका मेस्सीले फाइनल खेलमा कस्तो प्रदर्शन गर्नेछन् त्यो हेर्न बाँकी नै छ ।

ब्राजिल र अर्जेन्टिनाबिच भएको पछिल्लो तीनै कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएको छ । सन् १९३७, २००४ र २००७ मा भएको तीनै फाइनल खेलमा ब्राजिल विजयी भएको थियो । सन् २००७ मा भएको फाइनल खेलमा त मेस्सीपनि खेलेका थिए । तर उक्त खेलमा अर्जेन्टिना ३-० गोलले पराजित भएको थियो ।

मैत्रीपूर्ण खेललाई हटाएर हेर्ने हो भने त अर्जेन्टिनाले ब्राजिललाई १६ वर्षयता हराउनै सकेको छैन । सन् २००५ जुनमा भएको विश्वकप छनोट खेलमा ३-० गोलको जित निकालेदेखि अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्न सकेको छैन । त्यसैले मेस्सी र अर्जेन्टिनाको लागि यसअघि ब्राजिलसँग भएको तितो भेटको यात्रालाई समाप्त गर्दै उपाधि जित्ने यो भन्दा राम्रो अवसर आउनेछैन ।

हालसम्म ब्राजिल र अर्जेन्टिना १ सय ७ पटक भिडेका छन् । त्यसमध्य ५२ भेटमा ब्राजिलले बाजी मारेको छ भने ४० खेलमा अर्जेन्टिना विजयी भएको छ । बाँकी २५ खेल भने बराबरीमा सकिएको थियो ।


  • 1.7K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *