काठमाडौं, असार २५ । सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेको कदमको विरोध गरेका हुन् ।
कर्मचारीहरूले कामचलाउ सरकारले हतार–हतारमा सरकारकी सम्पत्ति माफियालाई सुम्पन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै यो कार्य तत्काल रोक्न माग गरेका छन् । निगमको हितमा काम गर्नुपर्ने महाप्रबन्धक डिमप्रसाद पौडेलले सरकारको मिलोमतोमा माफियाको हितमा काम गरेको भन्दै उनीहरूले महाप्रबन्धकको तत्काल राजीनामाको समेत माग गरेका छन् ।
सरकारले नेपाल वायुसेवा निगमलाई जनतामा लैजाने भनेर भ्रम छरेर माफियालाई सुम्पने खेल खेलेको उहाँहरूको आरोप छ । कर्मचारीलाई कुनै थाहा नै नदिई यत्रो कम्पनी तीन दिनको छोटो समयमा प्रबन्धपत्र तयार बनाई ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिनेलगायतका प्रावधान राख्नुले सीधै माफियालाई सुम्पन खोजिएको पुष्टि हुन्छ, संघर्ष समितिले भनेको छ ।
‘यदि, सही नियतले पब्लिकमा जान लागेको हो भने तयार भएको प्रबन्धपत्रमा सरकारको भूमिका किन प्रस्ट पार्न सकिएन रु किन ५१ प्रतिशत संस्थापक शेयरमा सरकारको नाम राख्न सकिएन रु’, कर्मचारीले भनेका छन्– ‘निगमलाई निजीकरण गरिनबाट रोकिनुपर्छ ।’
करोडौं पैसा तिरेर हुने निगमको महाप्रबन्धकको राजनीतिक नियुक्ति निगमका लागि घातक भएको भन्दै यस्तो व्यवस्थासमेत तुरुन्त खारेज गर्न आन्दोलनकारीहरूको माग छ । करोडौं पैसा तिरेर महाप्रबन्धक बन्न आएको र त्यही लगानी उठाउन खोज्दा निगम निरन्तर घाटामा समेत जाने गरेको उनीहरूको तर्क छ । नेपाल समाचारपत्र दैनिकबाट