USAID

सेर्जियो रामोस पिएसजीमा अनुबन्धित


एजेन्सी । रियल म्याड्रिडका पुर्व कप्तान सेर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)सँग अनुबन्धित भएका छन् । पिएसजीले रामोसलाई दुई वर्षको लागि फ्रि-ट्रान्सफरमा भित्र्याएको हो ।

३५ वर्षिय डिफेन्डर रामोसले सम्झौता सकिएपछि गत महिना रियल म्याड्रिड छोडेका थिए । क्लबले रामोसलाई थप एक वर्षको लागि १० प्रतिशत तलब कटौतीमा प्रस्ताव टेबलमा राखेको थियो तर रामोसले दुई वर्षको सम्झौता चाहेपछि खेलाडी र क्लबबिच सहमती भएको थिएन । अन्तिम समयमा रामोसले एक वर्षको लागि प्रस्ताव स्विकार गर्दा क्लबले उनलाई समय सकिएको जानकारी दिएको थियो ।

१६ वर्ष म्याड्रिडमा बिताएका रामोसले क्लबबाट ५ ला लिगा, ४ च्याम्पियन्स लिग सहित थुप्रै उपाधि तथा व्यक्तिगत अवार्ड जितेका थिए । पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यसहित पिएसजीले अर्को सिजनको लागि रामोससँगै जोर्जिन्हो विनाल्डम र आचर्फ हकिमीलाई भित्र्याइसकेको छ । तर टोलीका महत्त्वपूर्ण सदस्य केलियन एम्बाप्पे रियल म्याड्रिड जाने चर्चापनि उत्तिकै रहेको छ ।

रामोसलाई क्लबमा भित्र्याउन पाउँदा आफू खुशी रहेको क्लबका अध्यक्ष नासेर अल-खेलाइफीले बताए । उनले भने, ” हाम्रो समयको एक उत्कृष्ट खेलाडीलाई पेरिसमा स्वागत छ । हामी रामोसलाई क्लबमा भित्र्याउन पाउँदा खुशी छौ । उनी इतिहासकै एक उत्कृष्ट डिफेन्डर हुन् ।”

रामोसलेपनि आफू पिएसजीसँग जोडिदा खुशी रहेको बताए । उनले भने, ” म पिएसजीसँग जोडिन पाउँदा एकदमै खुशी छु । यो मेरो जीवनको ठूलो परिवर्तन सँगै नयाँ चुनौतीपनि हो । म क्लबलाई आउने दिनमा उपाधि जिताउन सक्दो प्रयास गर्नेछु ।”

दुवै बक्समा उत्कृष्ट रामोस

सेर्जियो रामोस दुवै बक्समा उत्कृष्ट रहँदै आएका खेलाडी हुन् । डिफेन्डिङमा खप्पिस रामोस गोल गर्नपनि कुनै स्ट्राइकर भन्दा कमि छैनन् । रियल म्याड्रिडबाट ६ सय ७१ खेल खेलेका रामोसले १ सय १ गोल गरेका गरेका थिए । यस शताब्दीमा युरोपको शिर्ष ५ लिगमा १ सय गोल गर्ने रामोस एक मात्र डिफेन्डर हुन् । यस्तै यस शताब्दीमा म्याड्रिडबाट रामोसले भन्दा बढी गोल क्रिस्टियानो रोनाल्डो(४५०), करिम बेन्जिमा(२७९), राउल(२२५), गन्जालो हिगुयन(११९) र गेरेथ बेल(१०५)ले मात्र गरेका छन् ।

रामोसले २०१६/१७ को सिजनमा म्याड्रिडबाट १० गोल गरेका थिए । यस्तै २०१८/१९ को सिजनमा ११ गोल गरेका रामोसले अर्को सिजन १३ गोल गरेका थिए । यस्तै उनले २ सय ६ खेलमा क्लिन सिटपनि राखेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *