USAID

एमालेको विवाद सहमति नजिक, कार्यदलको बैठक साँझ फेरि बस्ने


काठमाडौं । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको बैठक आज बेलुकी फेरि बस्नेगरी स्थगित भएको छ । आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो ।

छलफल सकारात्मक र गम्भीर रहेकाले कार्यदलले निष्कर्षमा पुर्याउनका लागि जोड गरिरहेको कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए । छलफललाई निष्कर्षमा पुर्याउनका लागि थोरै तयारी आवश्यक रहेको र यसबीचमा तयारी गरेर बेलुकी ७ बजे बैठक राखिने उनले बताए ।

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले हिजोभन्दा आज छलफलमा प्रगति भएको जानकारी दिए । केही कुरामा सहमति जुटाउन बाँकी रहेका कारण बेलुकासम्मका लागि बैठक सरेको उनले जानकारी दिए ।

विवाद समाधानको विन्दुमा आइपुगेको र अब निष्कर्षमा पुग्न धेरै समय नलाग्ने उनले बताए । उनले भने, ‘कतिपय विषयमा मोटामोटी हिजोभन्दा आज थप प्रगति भएको छ । केही कुरामा अझै बाँकी छ बाँकी कुराहरुलाई टुंगो लगाउनेगरी आज बेलुका नै अर्को बैठकको आयोजना गर्नेगरी बैठक स्थगित भएको छ । हामीले छलफल पछाडि निष्कर्षमा पुग्नका लागि अब त्यतिधेरै लामो समय लाग्दैन । लगभग लगभग हामी समाधानको बिन्दुमा आएका छौँ ।’

कार्यदलको सक्रियता तथा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको बुधबारको भेटले विवाद समाधानमा थप मद्दत पुगेको नेताहरुले बताएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *