USAID

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा


प्रज्जवल थापा । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक युरोकप फूटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको १ सय ४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई फाइनलको बाटो देखाएका हुन् । विपक्षी खेलाडीले स्टेर्लिङलाई डि-बक्स भित्र लडाएपछि इंग्ल्यान्डले पेनाल्टी जितेको थियो । केनको पेनाल्टीलाई स्चमाइकलले बचाएपनि केन आफैले रि-बाउन्डमा गोल गरेका हुन् ।

यसअघि वेम्बली रंगशालामा भएको खेलको ३० औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा डेनमार्कका सिमोन काजरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि इंग्ल्यान्डले खेलमा बराबरी गरेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अतिरिक्त समयमा पुगेको खेलमा इंग्ल्यान्ड विजयी भयो ।

अब इंग्ल्यान्डले उपाधिको लागि आइतबर हुने फाइनल खेलमा इटालीको सामना गर्नेछ । इटालीले हिजो भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगिसकेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *