काठमाडाैँ । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो । निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो ।
यो एउटा प्रतिनिधि उदाहरणमात्र हो । पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको छ । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल भत्केपछिका तीन महिनामा सडक विभाग मातहतका कम्तीमा २१ वटा पुल भत्किएका छन् ।
विभाग मातहतबाहेक प्रदेश र केही स्थानीय तहले निर्माण गरेका पुल पनि भत्किएका छन् । विभागका महानिर्देशक अर्जुनजंग थापाले वैशाखयता २१ वटा पक्की पुल भत्केको जानकारी दिए । यसमध्ये ११ वटा निर्माणाधीन र १० वटा निर्माण सम्पन्न भएका पुल हुन् । थापाका अनुसार पुल भत्किँदा दुई अर्बभन्दा धेरै लगानी नोक्सान भएको छ । यसले निर्माणमा गम्भीर लापरबाही भएको देखाएको छ ।
नेपालमा पक्की पुल बारम्बार भत्किनुमा गुणस्तरीय निर्माणमा गरिने खेलाँची र डिजाइनमै त्रुटि मुख्य कारण भएको विज्ञहरूले बताउँदै आएका छन् । सरकारले लागत घटाउने नाममा तराई क्षेत्रमा कम उचाइका पुल बनाएकाले पनि समस्या आउने गरेको छ ।
नदीमा सामान्यभन्दा केही बढी रुपमा बाढी आएमा कम उचाइका पुलमा क्षति पुग्ने, भत्किने र पिल्लर भासिने गरेको छ । यही असारमा बाढीले तराईका केही पुलहरूमा क्षति पुर्याएको छ । यो वर्ष बर्खा सुरु भइसकेको छ। प्रि–मनसुनकै बेला भएको क्षतिले आगामी दिन झनै भयावह हुने संकेत मिलेको समाचार नागरिक दैनिकमा छापिएकाे छ।