असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप

काठमाडौं । दोस्रो लहरको कोभिड शुरू भएदेखि निक्षेप संकलनमा उतारचढाव आए पनि चालू आर्थिक वर्षको असार मध्य अर्थात् तेस्रो सातामा आएर वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार तेस्रो साता मात्रै निक्षेप संकलन रू. ४७ अर्बले वृद्धि भएर कुल निक्षेप रू. ४० खर्ब ४६ अर्ब पुगेको छ । प्राय: असार मसान्त नजिकिएसँगै सरकारको भुक्तानी बैंकिङ प्रणालीमा आउने भएकाले पनि निक्षेप संकलन ह्वात्तै बढ्ने गरेको छ ।

गत वैशाख १६ यता मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएपछि निक्षेप संकलनमा पनि उतारचढाव आएको पाइन्छ । असार पहिलो सातापछि निषेधाज्ञा केही खुकुलो बनाउन थालेकाले अर्थतन्त्र पुनः चलायमान हुन थालेको र बैंकिङ प्रणालीमा पनि निक्षेप संकलन बढ्न गएको बैंकरहरूको भनाइ छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको असार पहिलो साता निक्षेप वृद्धि शून्य थियो । तर, दोस्रो साता रू. ८ अर्बले थपिएर कुल निक्षेप ३९ खर्ब ९९ अर्ब पुगेको थियो ।

पछिल्लो समयको वृद्धिको तुलनामा यसअघिका २ महीनाको मासिक निक्षेप वृद्धि कम देखियो । जेठ महीनामा रू. ३६ अर्बले मात्रै निक्षेप थपिँदा कुल निक्षेप रू. ३९ खर्ब ९१ अर्ब पुगेको थियो । गत वैशाखमा रू. ११ अर्बले निक्षेप वृद्धि भएको थियो ।

यसअघि निषेधाज्ञाका बीच पनि प्रक्रियामा रहेका कर्जाले गर्दा कर्जा प्रवाह बढिरहेको थियो । तर, निक्षेप संकलन भने अपेक्षाअनुसार नभएको गुनासो बैंकरहरूले गरेका थिए । तर, असार महीनामा भने निक्षेप वृद्धिले गति लिन थालेको समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *