खरिद गरिएको पहिलो खेपको खोप लिन निगमको जहाज आज बेइजिङ जाने

काठमाडौँ । चीनबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यही साउन ८ गतेसम्म तीनवटा उडानमार्फत् खोप ल्याउन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उनका अनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जादैछ । जहाजले भोलि शुक्रबार पहिलो खेपको खोप ल्याउने छ ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते दोस्रो खेप तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते तेस्रो खोप ल्याउने छ ।

जहाजले एक पटकमा कति खोप ल्याउन सक्छ भन्ने स्पष्ट छैन । उनले भने, “परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन ।” उनले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताए ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उहाँको भनाइ रहेको छ ।

यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिए । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *