काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
माओवादी केन्द्र परित्याग गरी एमालेतिर लागेका र कारबाहीमा परेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, रामबहादुर थापालगायतले माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दिएका हुन् । निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए ।
उनीहरुले माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका हुन् । उनीहरु सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका थिए । एमालेतिर लागेपछि उनीहरुको सांसद पद गएको थियो ।