एमाले विवाद समाधानतर्फ उन्मुख, कार्यदलले भोलिसम्म टुंग्याउने

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा छलफल सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा छलफल सकारात्मकरुपमा अघि बढेको नेताहरुले बताएका हुन् ।

बैठकपछि सचिव प्रदीप ज्ञवालीले विवाद समाधानतर्फ उन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिएका छन् । उनले भने,‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ।’

कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबप्च अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको प्रतिक्रिया दिए । सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर क्रियाशिल बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरुले चाहेकै भाषामा सहमति खोज्न नजिक आइपुगेको उनले बताए ।

उनले भने, ‘जुन जुन मुद्दाहरुमा विवाद देखापरेको थियो । ति मुद्दाहरुमा समाधान खोज्ने सन्दर्भमा झन्डै झन्डै निष्कर्षमा पुगिरहेका छौँ । र एउटा छोटो अवधिमा हामीले समस्याहरुको समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्नेकुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ । बैठक सकारात्मक रुपमा अगाडि बढेको छ । हामी विषयवस्तुकै हिसाबले पनि धेरै बुँदाहरुमा सहमतिको नजिकमा छौँ । दिनकै हिसाबले नतोकौं तर हामीले गरेको लामो प्रयत्न, अनौपचारिक हिसाबले प्रयत्न जारी छ । यो प्रयत्नले सार्थक परिणाम प्राप्त गर्छ ।’

लामो समयदेखि निष्क्रिय रहँदै आएको कार्यदल तीन दिनदेखि छलफलमा जुटेको छ । कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपालकातर्फबाट उपाध्यक्ष डा. भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त,  तथा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र बिष्णु रिमाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *