प्रज्जवल थापा । अर्जेन्टिना कोपा अमेरिका फूटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाको लागि लियोनल मेस्सी, लेनार्दो डानियल पारेडेस र लौटारो मार्टिनेजले गोल गर्दा रोड्रिगो चुके । कोलम्बियाको लागि जुआन कौड्राडो र मिगुएल बोर्जाले गोल गर्दा डाभिन्सन सान्चेज, यारी मिना र एड्विन कार्डोनाको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलिअनो मार्टिनेजले बचाए ।
यसअघि पहिलो हाफको छैटौं मिनेटमा मेस्सीको पासमा लटौरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई खेलमा अगाडि बढाएका थिए । ६२ औं मिनेटमा कार्डोनाको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो ।
जितसँगै अर्जेन्टिना सन् २०१६ पछि पहिलोपटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ । अब अर्जेन्टिनाले आइतबार उपाधिको लागि ब्राजिलको सामना गर्नेछ । ब्राजिल हिजो भएको सेमिफाइनल खेलमा पेरुलाई १-० गोलले हराउँदै फाइनल पुगिसकेको छ ।