एनआरएनए पोल्याण्डको निर्वाचन समिति गठन, संयोजकमा डा. आचार्य

शेरबहादुर परियार, यूरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डले आसन्न छैठौं अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । संघका अध्यक्ष नरेश सापकोटा र सचिव कविन्द्र सुवेदीले विज्ञप्ति जारी गर्दै तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको जनाइएका हुन् ।

एनआरएनए पोल्याण्डका संस्थापक तथा पोल्याण्डकालागि नेपाली पर्यटनदूत डा. उदयदेव आचार्यलाई निर्वाचन संयोजक तोकिएको छ भने समितिका सदस्यहरुमा आनन्द घिमिरे र अनिल पौडेल मनोनित भएका छन् । घिमिरे नेपाली व्यवसायी संघ पोल्याण्डका सचिव हुन् भने पौडेल नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य हुन् ।

निर्वाचन समितिले एनआरएनए पोल्याण्डको आसन्न अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाका कामहरु आजबाट गर्ने र समितिले आवश्यक ठानेमा बढीमा २ जना सदस्य थप गर्न सक्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए पोल्याण्डको कार्यसमितिको निर्णयअनुसार १७ अप्रिल २०२१ मा संघको पञ्जीकृत सदस्यको आवेदन खुल्ला गर्दै अधिवेशन आगामी १९ जुलाई २०२१ लाई तोकेको थियो । त्यही अधिवेशनको मितिलाई स्विकार गर्दै पोल्याण्डमा रहेका नेपालीको उच्च सहभागिता सहित आगामी कार्यकाल २०२१-२०२३ का लागि ४८३ जनाले पञ्जीकृत सदस्यता प्राप्त गरेका छन् । याे एनआरएनए पोल्याण्डको इतिहास कै उच्च पञ्जीकृत सदस्य संख्या हो ।

एनआरएनए पोल्याण्डको विगत सन् २०१०-२०१४ मा ६४ जना, सन् २०१४-२०१५ मा ७८ जना, सन् २०१५-२०१७ मा १२३ जना, सन्२०१७-२०१९ मा १६९ जना र सन् २०१९-२०२१ मा २५४ जनाले पञ्जीकृत सदस्यता लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *