चीनद्वारा ओलाङचुङगोला र याङ्मामा राहत प्रदान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा निवासी टासी फिम्जो शेर्पा गत हप्ता याकहरु जम्मा गर्दै थिए । उनको मात्र होइन याङ्माका १० घर परिवारको याक जम्मा गरिँदै थियो । चीनले राहतस्वरूप उपलब्ध गराएको खाद्यान्न गाउँमा ल्याउन ढुवानीका लागि याक जम्मा गरिएको हो ।

गत हप्ता मात्र चीन र नेपालको सीमा क्षेत्रसम्म चीनले खाद्यन्न सामग्री ल्याए छोडिदिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारणले नेपाली र चिनियाँ समुदायबीच भेटघाट नहुने सर्तमा नाकासम्म चीनले खाद्यान्न पुर्याएर छाडिदिएको हो । दुई दिनपछि आलोङचुङगोलाका समुदाय सीमा क्षेत्र टिप्ताला नाका पुगेर याङ्माको घरधुरी सङ्ख्याका आधारमा छुट्याई सीमा क्षेत्रमै राखेर ओलाङचुङगोलामा सोमबारदेखि चीनले दिएको खाद्यान्न ल्याउने काम भइरहेको फक्ताङ्लुङ–७ का वडाध्यक्ष छेतेन भोटेले बताए ।

याङ्मा गाउँबाट मङ्गलबार याक लिएर चीनको नाकातर्फ लागेको याङ्माका स्थानीयवासी कान्दे ग्याबु शेर्पाले बताए । याङमा गाउँदेखि सीमा क्षेत्र टिप्ताला पुगेर गाउँ फर्केर आइपुग्न दुई हप्ता लाग्ने शेर्पाले बताए ।

पाँच हजार २०० मिटर उचाइको भञ्ज्याङमा छिमेकी मुलुक चीनले दिएको खाद्यान्नलगायत सामग्री लिन याङ्मावासी गएका हुन् । हिमाली समूदायमा चौँरी याकमार्फत आवश्यक सामग्रीको ढुवानी गरिन्छ ।

चामल, पिठो, मैदा, तेल र नुन पनि घरधुरी र जनसङ्ख्यालाई आधार मानेर पठाएको भोटेले बताए। उनका अनुसार १० किलो प्याकेटको चामल दुई हजार पोका, ५०० पोका मैदा र २०० पोका साम्बा पठाइएको छ ।

मैदाको एउटा पोका आठ र साम्बाको एउटा पोका १० किलोका छन् । खाने तेल दुई हजार लिटर पठाइने उल्लेख छ । नेपाली ५० लाख बराबरको खाद्य सामग्री आउने भोटेले बताए ।

चीनका अधिकारीले द्विदेशीय सिमानासम्म ल्याएर राखेर फर्केपछि ओलाङचुङगोला र याङमा क्षेत्रका समुदाय खाद्यान्न लिन जान थालेका हुन् । सिमाना छेउमा चीनले बनाएको भवनमा सुरक्षित गरेर राखिएको सामान गणना गर्ने र ल्याउने गरिएको भोटेले बताए ।

टिप्तालादेखि ओलाङचुङगोला बस्तीसम्मको दूरी २४ किलोमिटर छ । विगतदेखि नै सीमा क्षेत्र तथा हिमाली बस्तीमा रहेका समुदायलाई चीनले खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *