प्रज्जवल थापा । डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को पहिलो खेलमा डेनमार्कले १० खेलाडीमा समेटिएको वेल्सलाई ४-० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जोहान क्रफ एरिनामा भएको खेलमा डेनमार्कलाई जित दिलाउन कास्पेस डोलबर्गले दुई गोल गर्दा जोएकिम महले र मार्टिन ब्राथवेटले एक/एक गोल गरे । पहिलो हाफको २७ औं मिनेटमा डाम्सगार्डको पासमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई खेलमा अगाडि बढाएका थिए । ४८ औं मिनेटमा डोलबर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।
८८ औं मिनेटमा माथिअस जेन्सनको पासमा जोएकिम महलेले गोल गर्दै डेनमार्कलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ९० औं मिनेटमा ह्यारी विल्सनले रातो कार्ड खाँदै मैदान छोडेपछि वेल्स १० खेलाडीमा सिमित भयो । विल्सनले महलेलाई फावल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । यस्तै अतिरिक्त समयको चौथो मिनेटमा कोर्नेलिउसको पासमा ब्राथवेटले गोल गर्दै डेनमार्कलाई ४-० गोलले फराकिलो जित दिलाए ।
जितसँगै डेनमार्क क्वाटरफाइनमा प्रवेश गरेको छ । पराजित वेल्स भने अन्तिम १६ बाटै घर फर्किएको छ । अब डेनमार्कले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र चेक रिपब्लिकबिच हुने खेलको विजेतासँग खेल्नेछ ।