काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुसार काम गरिरहेका राष्ट्रपतिलाई रिसाएको बिरालोले खाँबो चिथोरेजस्ताे गरी जबरजस्ती चिथोर्ने काम भइरहेको टिप्पणी गरेका छन् । परराष्ट्र अध्ययन मामिला प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा नै चलिरहेको बताएका हुन् ।
‘जसले राष्ट्रपतिलाई गाली गर्न सक्ने मुख छोड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चल्या छ । हिजो पनि केही भूतपूर्वकहरुको लस्करले प्रेस मिट गरेको देख्याथिएँ । त्यसमा पनि राष्ट्रपतिमाथि राष्ट्रपति भन्दा राजै राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो’, ओलीले भने, ‘कतिबेला के बोल्ने थाहा छैन । राष्ट्रपतिलाई जे अधिकार दिएका छौं त्यसमा राष्ट्रपति सीमित हुनुहुन्छ ।’
प्रधानमन्त्रीकाे भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित थियो । बिहीबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले भने राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको भन्दै बचाउ गरे । ‘उहाँहरुको सम्बन्धमा केही भन्नु छैन। आ-आफ्नो कल्चरल लेभलको कुरा पनि होला । अर्को कुरा गणतन्त्रप्रतिको वैरभाव पनि होला’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरू सभ्य मर्यादित समाज होइन, असभ्य समाज बनाउन चाहनुहुन्छ। उहाँहरुका बोलाइ चलाइ अभिव्यक्ति यी सबै कुरामा देखिन्छ ।’