काठमाडाैँ । निषेधाज्ञाको बेला शून्य जस्तै भएका प्रहरी कार्यालयहरूमा निषेधाज्ञा खुकुलो भएको दुई दिनमै भिडभाड बढेको छ । निषेधाज्ञा कडा भएपछि प्रहरीमा उजुरी दिन नपाएकाहरूले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै उजुरी दिन पुगेका हुन् ।
निषेधाज्ञा खुलेसँगै प्रहरीमा सबैभन्दा बढी बैंङिक कसुर सम्बन्धी उजुरीहरू परेका छन् । त्यस्तै, घरेलु झगडा, मानहानीसम्बन्धि मुद्दा बोकेर आउनेको पनि उस्तै भीड देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बैकिङ कसुरका एक हजारभन्दा बढी मुद्दाहरू पेन्डिङमा छन् । लकडाउन खुलेपछि अन्य समयमा भन्दा अपराध बढ्छ । प्रहरीमा नयाँ उजुरी बोकेर आउनेको पनि उस्तै भीड लागेको छ ।
सरकारले लकडाउन सुरु गरेपछि प्रहरीले जघन्य अपराध बाहेकका मुद्दा दर्ता रोकेको थियो । प्रहरी कार्यालयहरूले मंगलबारदेखि सबैखाले मुद्दा दर्ता गर्न थालेपछि उजुरी दिन पुग्नेको भिडभाड बढेको परिसर काठमाडौंका प्रवक्त रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको समयमा प्रहरीले सामान्य मुद्दालाई सार्दै आएको थियो भने पीडितहरू प्रहरीकहाँ आउन सकेका थिएनन् ।
निषेधाज्ञा खुकुलो भएपछि प्रहरीमा उजुरी हाल्न पुगेको भिड बढेको उनको भनाइ छ । ‘निषेधाज्ञा अवधिभर हिरासत कक्ष खाली जस्तै थियो, अहिले हिरासतमा ६ जना मात्रै छन्,’ उनले भने, ‘तर धेरैहरू पेन्डिङ रहेका छन्, जोहरी दिन आउनेको पनि भिडभाड बढेको छ ।’
उनले निषेधाज्ञाको समयमा कोभिड परीक्षण गरेर मात्रै हिरासतमा राखिने गरिएको बताए । पोजेटिभ देखिाकाहरूलाई महानगरीय प्रहरी वृत्त लैनचौर, दरबारमार्गमा राख्ने गरिएको छ । कोरोना संक्रमण दर बढिरहेको बेला सामान्य अपराधमा संलग्न व्यक्तिहरूलाई छुट दिएपछि अब भने कारबाही हुने प्रहरीले जनाएको छ ।
त्यस्तै हदम्याद भएका मुद्दाहरूलाई पनि प्रहरीले अघि सारेको छ । कोरोना महामारीको बेला सरकारले निषेधाज्ञा जारी गरे पनि पीडितहरू प्रहरी कार्यालयमा पुग्न सकेका थिएनन् । निषेधाज्ञा खुलेसँगै पीडितहरू प्रमाण बोकेर प्रहरीकहाँ धाउन थालेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएकाे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।
