अष्ट्रिया नकआउट चरणमा, नेदरल्यान्ड्स अपराजित

प्रज्जवल थापा । अष्ट्रिया युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘सी’को खेलमा अष्ट्रियाले युक्रेनलाई १-० गोलले हराउदै पहिलो पटक नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो ।

एरिन नेस्नलामा भएको खेलमा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गारट्नेरले एक गोल गरे । पहिलो हाफको २१ औं मिनेटमा डेभिड अलबाको पासमा बाउम्गार्ट्नेरले गोल गर्दै अष्ट्रियालाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा अष्ट्रिया १-० गोलले विजयी भयो ।

जितसँगै अष्ट्रिया २ खेलबाट ६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । पराजित युक्रेन ३ अङ्कको साथ तेस्रो स्थानमा छ । नकआउट चरण प्रवेशको लागि युक्रेनले अन्य समूहको नतिजा पर्खिनुपर्नेछ ।

यस्तै समूहकै अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । जोहान क्रुफ एरिनामा भएको खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३-० गोलले हराउँदै अपराजित रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन जोर्जिन्हो विनाल्डमले दुई गोल गर्दा मेम्फिस डिपेले एक गोल गरे । नेदरल्यान्ड्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो । जितसँगै नेदरल्यान्ड्स ३ खेलबाट ९ अङ्क जोड्दै शिर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको म्यासेडोनिया अङ्कविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *