काठमाडाैँ । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।
नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ) थियो । सन् २०२० मा बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ) पुगेको छ ।
यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन् । स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् । गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ ।
स्विस नेसनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर सन् १९९६ (वि.सं. २०५२) देखिको विवरण सार्वजनिक गरेको छ । द्वन्द्व सुरु भएकै वर्ष १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ (हालको विनिमय दर अनुसार) जम्मा गरिसकेको देखिन्छ । तर हालको मौज्दात त्यति नहुनुले नेपालीले बचत राख्ने र झिक्ने गरिरहेको देखाउँछ ।
स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्विस बैंकलाई गैरकानुनी आर्जन राख्न सुरक्षित भनेर विश्वभर नै चिनिन्छ ।
नेपालको सन्दर्भमा स्विस बैंकमा बचत मुख्य दुई दृष्टिकोणले गैरकानुनी रहेकाले यसबारे सरकारले गम्भीर अुनुसन्धान गर्नुपर्ने अधिकारीहरू बताउँछन् । पहिलो– पारदर्शिता कमजोर भएको स्विस बैंकमा बचत गर्नु नै सम्पत्ति शुद्धीकरणको शंका गर्दै अनुसन्धान कार्य अगाडि बढाउनुपर्छ । दोस्रो– विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ मा नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, कम्पनी तथा फर्ममा लगानी गर्न नपाउने व्यवस्था छ ।
यसविपरीत कार्य गरे बिगोबमोजिमको जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । ‘नेपालीले स्विस बैंकमा मौज्दात र विदेशमा लगानी गरेको विवरण सार्वजनिक हुनुले हाम्रो आर्थिक नीति उल्लंघन भएको पुष्टि गर्छ,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘यस्ता विवरण धेरैपटक सार्वजनिक भए पनि लामो समयदेखि आँखा चिम्लिएकै अवस्था छ ।’
हालसम्म स्विस बैंकमा रकम जम्मा गरेकामध्ये तीन जना नेपालीको नाम मात्रै सार्वजनिक भएको छ । सन् २०१९ जनवरीमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ (आईसीआईजे) र नेपालस्थित खोज पत्रकारिता केन्द्र (खोपके) ले सार्वजनिक गरेको विवरणअनुसार स्विस बैंकले बचतकर्तामा लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु शाह छिब्बर र उनका दुई छोरा पनि हुन् । बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा उनीहरूले पैसा जम्मा गरेका हुन् । मिनुको स्थायी ठेगाना ललितपुरको कुपण्डोल हो, जहाँ उनको ‘छिब्बर निवास’ नै छ ।
मिनु र उनका दुवै छोराले सन् २००६/०७ मा ७८ लाख ५० हजार ९ सय ९१ का दरले (२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ) बचत गरेको विवरण सार्वजनिक भएको थियो । यी नाम र अन्य विवरण पटक–पटक सार्वजनिक भए पनि यसबारे अनुसन्धान गर्नुपर्ने नेपालका निकाय बेखबरजस्तै रहेकाे समाचार कान्तिपुर दैनिकमा समाचार छ ।
