काठमाडौं । सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता डा. प्रकाशशरण महतले सरकारकै उदासिनता र अकर्मण्यताको कारणले कोभिड–१९को विस्तार भएको र निषेधाज्ञा गर्नुपर्ने स्थिति आएको भन्दै निषेधाज्ञालाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको बताएका हुन् ।
यसको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए । उनले भने, ‘सरकारको चरम लापरवाही र सत्ता केन्द्रित राजनीतिका कारण देश चौतर्फी संकटमा परेको छ । कोभिड–१९ को महामारीको रोकथाम र उपचारलाई युद्ध स्तरमा लाग्नु पर्नेमा यस महामारीलाई सत्ता सुरक्षा कवचको रुपमा सरकारले प्रयोग गर्दैछ । कोभिड–१९ को रोकथाम र उपचारमा सक्रिय हुन निरन्तर खबरदारीका वावजुद सरकारले यसलाई प्राथमिकतामा राखेन । संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउनको सहारा लिन पर्यो । यसले निम्न वर्गका नागरिकहरु खासगरी श्रमजीवी वर्ग दैनिक जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । संक्रमितहरुको उपचारमा पहुँचको समस्या र पहुँचमा पुगेकाहरुलाई चर्को उपचारको खर्चको समस्या पनि भयावह छ । नेपाली कांग्रेस सरकारसँग फेरि पनि कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा गम्भीर हुन माग गर्दछ।’
बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।