तिलोत्तमाको नीति तथा कार्यक्रमः स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख वासुदेव घिमिरेले बुधबार दशौँ नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर ः खुशी नगरवासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण; युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी; जीवनको उत्तराद्र्धमा ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण; र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको नगरप्रमुख घिमिरेले बताए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको उनले स्पष्ट पारे ।

दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भैरहँदा ल्याइएको नीति तथा कार्यक्रममा तिलोत्तमाले सबै नगरबासीलाई छिटोभन्दा छिटो कोरोना खोपको पहुँचमा पुर्याउन कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।

सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै ७० वर्ष भन्दा माथि उमेर समूहका नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा तिलोत्तमाले नीति तथा कार्यक्रममार्फत् गरेको छ ।

कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने, आर्थिक रुपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारको लागि ‘नगर प्रमुख विपन्न नागरिक सहायता कोष’ स्थापना गर्ने, प्रत्येक स्वास्थ्य संस्थाहरुमा व्यवस्थित र सुविधा सम्पन्न खोप केन्द्र सञ्चालनको लागि पूर्वाधार निर्माण गर्ने, सबै सामुदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तिलोत्तमाले शिक्षा क्षेत्रका चालु आर्थिक वर्षका प्रायः कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, ईन्टरनेट सेवाको व्यवस्था मिलाउने, कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिका छोराछोरीलाई मावि तहसम्मको अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था मिलाउने घोषणा गरेको छ ।

सामुदायिक विद्यालयहरुको साझेदारीमा थप तीन विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय १० लाख विशेष अनुदान उपलब्ध गराउने नीति लिएको तिलोत्तमाले “ग” वर्गको पहेलो कार्ड प्राप्त गरेका तर कुनै सरकारी सुविधा प्राप्त नगरेका अपाङ्गता भएकाहरुलाई प्रोत्साहन स्वरुप वार्षिक ६ हजार सामाजिक सुरक्षाभत्ता दिने घोषाणा गरेको छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले लिएको छ । ‘युवा तथा महिलासँग उपमेयर कार्यक्रम’ सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसाय, सीपसँग जोड्दै सहुलियतपूर्ण कर्जा व्यवस्था गर्ने नीति लिएको छ ।

मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने नीति लिएको तिलोत्तमाले दलहन, तेलहन बालीको बीउमा समेत अनुदानको व्यवस्था गरिने जनाएको छ । भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको स्वामित्व प्रदान गर्न सुकुम्बासी समस्या समाधान आयोगसँग कार्यसम्झौता गरी लगत संकलन गरिएको र जग्गा नापजाँचको लागि आवश्यक तयारी अघि बढिसकेकोमा आगामी आर्थिक वर्षमा त्यसलाई सम्पन्न गराउन प्राथमिकता दिइने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

तिलोत्तमाले ‘मेयर नगर आवास कार्यक्रम’ सञ्चालन गरी आगामी आर्थिक वर्षमा मापदण्डको आधारमा अतिविपन्न निश्चित वर्ग÷समुदायका ५० परिवारलाई घर बनाउन प्रतिघर २ लाख अनुदान उपलब्ध गराइने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षमा नयाँ सडक कालोपत्रे गर्ने कार्यलाई भन्दा पुराना जीर्ण अवस्थामा रहेका पक्की सडकको मर्मत सम्भारलाई प्राथमिकता दिइने, घर नक्सा पासलाई अनलाईन प्रविधिबाट डिजिटलाइज्ड गर्ने, विपद्मा छिटो छरितो उद्धार तथा व्यवस्थापन गर्न दक्ष जनशक्ति सहितको विपद् व्यवस्थापन केन्द्र निर्माण गरिने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

चालु आर्थिक वर्षमा कोभिड–१९ को कारण बन्दाबन्दी हुँदा व्यापार/व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेकोले आगामी आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय कर तिर्दा व्यवसायीलाई तीन महिनाको कर छुट दिने, चालु आर्थिक वर्षमा सबै प्रकारका कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म कुनै प्रकारको हर्जाना नलिइने तथा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिने तिलोत्तमाको नीति रहेको छ । सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागि नगरपालिकाको आफ्नै अप्टिकल फाईबर सञ्जाल विस्तार गरिने पनि नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *