राजस्व छली गर्ने व्यवसायीहरुविरुद्ध १६ करोड विगो माग दाबी गर्दै मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि (भ्याट) बिल प्रयोग गरी राजस्व छली गर्ने व्यवसायीहरुविरुद्ध १६ करोड ६७ लाख ६० हजार रुपैयाँ विगो दाबीसहित उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले वैशाख २१ देखि जेठ २३ गतेसम्ममा उक्त विगो मागदाबी गर्दै पाँच वटा मुद्दा दर्ता गरेको हो । विभागले सोमबार विज्ञप्ति जारी गरी झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एसएन इन्टरनेसनलका सञ्चालक रामनिवास अग्रवालविरुद्ध चार करोड ५२ लाख ४२ हजार रुपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जनाएको छ ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित ग्लोबल इम्पेक्स इन्टरनेसनलका सञ्चालक किसनकुमार अग्रवालविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उनीमाथि झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो। उक्त मुद्दामा चार करोड ४२ लाख सात हजार रुपैयाँ विगो कायम गरिएको विभागले जनाएको छ ।

त्यसैगरी आयकर छली गरेको अभियोगमा भारतीय नागरिक सत्यनारायण प्रसादविरुद्ध उच्च अदालत पाटनमा जेठ २१ गते मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा विभागले ९९ लाख ७५ हजार ६०० रुपैयाँ विगो मागदाबी गरेको छ । वैशाख २८ गते पर्साको वीरगञ्जका दीपेन्द्रप्रसाद कलवारसमेत चारजनाविरुद्ध भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ। उक्त मुद्दामा एक करोड २२ लाख ५० हजार रुपैयाँ विगो मागदाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *