दलको नेतृत्व पुस्तान्तरण गर्ने ‘गफ मात्रै’

काठमाडाैँ । अबको महाधिवेशनमा एमालेको नेतृत्व लिन को अग्रसर होला ? प्रायःको जवाफ आउँछ– केपी ओली । कांग्रेसको ? शेरबहादुर देउवा । माओवादीको ? पुष्पकमल दाहाल । राष्ट्रिय जनमोर्चाको ? चित्रबहादुर केसी । अनि, नेमकिपाको ? नारायणमान बिजुक्छे ।

कुनै दलमा प्रतिस्पर्धा होला, कुनैमा नहोला । तर, यी अनुहारै दोहोरिने करिब–करिब पक्का छ । यी सबै नेता उमेरले आराम गर्ने बेलामा पुगिसकेका छन् । पुस्तान्तरणको कुरा गरेर थाक्न लागेका छन्, तर नेतृत्वको स्वादबाट अघाएका भने छैनन् ।

नवौं महाधिवेशनबाट एमालेले नेतृत्वका लागि ७० वर्षे हदम्याद तोक्यो । तर, केन्द्रीय कमिटीको फागुन २८ को बैठकले पार्टी विधानमा संशोधन गरेर हदम्याद हटायो । यो प्रावधानले एमालेको मूल नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने सम्भावना सकिएको छ । नेतृत्व दोस्रो पुस्ता हस्तान्तरणको माग उठेपछि एमालेले महाधिवेशनबाटै यस्तो प्रावधान विधानमा राखेको थियो ।

कांग्रेसमा शेरबहादुर देउवाले आफूलाई दोस्रो पुस्ताको नेता दाबी गर्थे । तर, उमेरका हिसाबले देउवा पहिलो पुस्ताकै हुन् । महाधिवेशन केन्द्रित देउवाको रणनीतिका कारण कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण सम्भावना कमै रहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रमा त प्रचण्डको एकल हालीमुहाली छ । दोस्रो पुस्तामा त परै जाओस, बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेताहरूले पार्टी छोडेका कारण प्रचण्डभन्दा अर्को व्यक्तिमा पार्टीको नेतृत्व जाने कुरा कल्पना गर्न नसकिने माओवादी केन्द्रका एक नेताले बताए ।

संसदमा एक/एक सिट रहेका नेमकिपा ३० वर्षदेखि नेतृत्व एकै व्यक्तिको छ। अर्को एक सिटको दल राजमोमा चित्रबहादुर केसी २२ वर्षभन्दा बढीदेखि एक्लै नेतृत्व हाँकिरहेका छन् । मधेस केन्द्रित दलहरू त नेतृत्वकै टकराव र भागबण्डाको राजनीतिका कारण टुट्ने र फुट्ने सामान्य प्रक्रिया जस्तै छ । ‘पार्टीहरूको सुशासन देखाउने र सुनाउने मात्र भयो,’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, ‘हाम्रो नेतृत्व नै झेली छ । अरूमा नेतृत्व जान नदिन अनेक झेल गरिरहन्छ ।’ याे समाचार अन्नपूर्णपाेस्ट दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *