रुपन्देही । लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ । अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार सङ्क्रमित हुनेमा २५ देखि २९ वर्षका धेरै छन् । यो उमेर समूहका करीब १३ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ ।
त्यसपछि ३० देखि ३४ वर्षका १२ प्रतिशत, ३५ देखि ३९ र २० देखि २४ वर्षका १० प्रतिशत सङ्क्रमित छन् । सबैभन्दा कम ७० देखि माथि र १० वर्षभन्दा कम उमेर समूहका छन् । यो उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकामा सङ्क्रमणदर झण्डै दुई प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ । स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो ।
कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा उपचारका लागि सहज भएको छ । अघिल्लो हप्तासम्म भरिभराउ रहेका लुम्बिनीका अस्पतालमा बिस्तारै बिरामीको चाप कम हुँदै गएको छ । रुपन्देहीका अस्पतालमा श्यया खाली नभए पनि अक्सिजनको सहज आपूर्ति र बिरामीको चाप केही कम भएकाले उपचार सहज बन्दै गएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा नन्दु पाठकले बताए ।
खाली हुँदै बाँके अस्पतालका श्यया
कोरोना सङ्क्रमणदर घटेसँगै यहाँका अस्पतालका श्यया खाली हुँदै गएका छन् । एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा श्यया नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका श्यया खाली हुँदै गएका छन् ।
दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित भर्ना हुने बाँकेमा सङ्क्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी बाँकेका अस्पतालमा उपचारका लागि आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । उनका अनुसार सङ्क्रमण दर घटेसँगै पश्चिम नेपालमै कोरोना उपचार केन्द्रका रुपमा रहेका नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालका कोभिड कक्षकै श्ययासमेत खाली भएका छन् ।
मङ्गलबार भेरी अस्पतालको कोभिड वार्डमा ३०, नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २८, वेस्टर्न अस्पताल नेपालगञ्जमा १३, युनाइटेड अस्पताल नेपालगञ्जमा पाँच गरी ७६ श्यया खाली भएका वलीले जानकारी दिए ।
कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा ३६१ कोभिड श्ययामा मङ्गलबार २८५ व्यक्ति उपचाररत छन् भने ७६ श्यया खाली छन् । बाँकेमा अहिले सङ्क्रमितभन्दा कोरोना जितेर घर फर्किनेको सङ्ख्या धेरै छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञाको एक महिनापछि बाँकेमा सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । दैनिक १० जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदरसमेत न्यून भएको छ । अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताइएको छ ।
यसैबीच कोरोना सङ्क्रमणबाट यहाँ हालसम्म ५४० जनाको मृत्यु भएको छ । कोरोना महामारी सङ्क्रमणको एक वर्षको अवधिमा उपचारका लागि भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै बाँकेका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।
उनका अनुसार हालसम्म कोरोना सङ्क्रमणका कारण बाँकेका २८१ र अन्य जिल्लाबाट उपचारका लागि यहाँका अस्पतालमा भर्ना भएका २५९ गरी ५४० जनाको मृत्यु भएको हो । पछिल्लो पटक आज बिहान उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमितको सहयोगमा जुटे पाल्पाली युवा
पाल्पामा कोरोना सङ्क्रमितको सेवामा युवा खटिएका छन् । अस्पतालमा बसेका बिरामीलाई खानाको व्यवस्थापन, बिरामीलाई अस्पतालसम्म पुर्याउनेदेखि विभिन्न कार्यमा यतिबेला यस क्षेत्रका युवा व्यस्त छन् ।
तानसेन नगरपालिका–११ का यादवसिं कार्कीले कोभिड–१९ का सङ्क्रमितलाई आफ्नै सवारीसाधनमा राखेर अस्पतालसम्म पुर्याउने काम गर्दै आउनुभएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष, मदिरा व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका कार्की पाल्पा गुल्मी तथा आसपासका कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पुर्याउने कार्यमा सक्रिय छन् ।
देशका विभिन्न ठाउँमा सङ्क्रमितले एम्बुलेन्सलगायत सवारीसाधन नपाएको गुनासो गरेको खबर सुनेपछि मानवीय सेवा भावले बिरामीलाई सेवा दिएको कार्की बताउँछन् ।
यातायात सुविधा नपाएर अलपत्र पर्न तथा ज्यानैसमेत जाने खतरा बढेकाले पिपिई तथा मास्क लगाएर उनी आफ्नै निजी सवारीसाधनमा बिरामी बोक्दै आएका छन् । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास, युनाइटेड मिसन अस्पताल तथा बुटवलका विभिन्न अस्पतालसम्म बिरामी पुर्याउँदै फर्कने गरेको कार्कीको भनाइ छ ।
गाउँमा कोरोना सङ्क्रमित नागरिकलाई परिवार र समाजले गरेको व्यवहारलाई आफूले नियाँल्ने अवसरसमेत मिलेकामा जोड दिँदै कार्कीले समाज र परिवारमा कोरोना लाग्ने डरले झ्यालढोका थुनेर बसेका कारण पनि कतिपयमा अक्सिजन कमी भएको उल्लेख गरे । कोरोना रोगसँगै मानिसको चेतना विकास गर्नसमेत आवश्यक रहेको कार्कीको अनुभव छ ।
बगनासकाली गाउँपालिकाका टोपबहादुर न्यौपाने कोरोना महामारीको जोखिम परिस्थितिमा आफ्नै सवारीसाधनमार्फत बिरामीलाई अस्पतालसम्म लैजाने कार्यमा खटिएका छन् । वडा नं ५ का वडा सदस्यसमेत रहेका न्यौपाने बिरामी ओसार्ने मात्र नभई गाउँका दीर्घरोगीलाई औषधि ल्याइदिने समेत काम गर्छन् ।
कोरोना सङ्क्रमण फैलिने डरले अस्पतालसम्म पुगेर औषधिसमेत ल्याउन नसकेका दीर्घरोगीलाई उनीहरुले खाँदै आएको औषधिका आधारमा मिसन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजबाट औषधिसमेत ल्याइदिने गरेको न्यौपाने बताउँछन् ।
पूर्वी पाल्पाको रामपुरका युवा मिलेर बिरामी, बिरामी कुरुवा तथा स्वास्थ्यकर्मीलाई खानाको व्यवस्थापन मिलाएका छन् । बिरामीलाई खानाको प्रबन्ध गर्दा कोरोना सङ्क्रमण फैलिने डरले होटेल व्यवसायीले खाना खुवाउन नमानेपछि रामपुर युवा क्लबका युवाले अस्पतालको आइसोलेशनमा रहेका बिरामी, कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कर्मचारीलाई खानाको व्यवस्थापन मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताए ।
क्लबका युवाले आफँै खाना तयार गरेर दैनिक साँझबिहान खाना खुवाउने व्यवस्थापन मिलाएका छन् । क्लबले होराइजन डेन्टल क्लिनिकको समन्वयमा खाना पुर्याउने प्रबन्ध गरेको मिलाएको कँडेलको भनाइ छ ।
पाल्पाका सामाजिक स्रोत विकास केन्द्र नेपाल र एक्शन एड नेपालले मिलेर युनाइटेड मिसन अस्पतालको समन्वयमा सङ्क्रमित तथा कुरुवाका निम्ति खानाको जोहो गरिदिएको छ । युनाइटेड मिसन अस्पतालका रहेका बिरामीलाई एक महिनासम्म खानाको व्यवस्था मिलाएको केन्द्रका कार्यकारी निर्देशक चोपलाल गिरीले जानकारी दिए ।
केन्द्रले अस्पतालकै क्यान्टिनमा प्रतिव्यक्ति दिनको ४०० बराबरको खाना व्यवस्थापन मिलाएको जनाएको छ । केन्द्रले रैनादेवी छहराको कोरोना अस्पतालमा पनि खानाको प्रबन्ध एक्शन एड नेपाल र युनाइटेड मिसन गरेको निर्देशक गिरीको भनाइ छ । उहाँका अनुसार अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिई सेट, एन्टीजेन परीक्षणका लागि किटसमेत प्रदान गर्ने योजना छ ।
बगनासकालीका सबै वडा तथा रैनादेवी छहरा रिव्दीकोट, माथागढी गाउँपालिका तथा तानसेन नगरपालिकाका केही वडामा स्वास्थ्य सामग्री, विपन्न परिवारलाई स्वास्थ्य पोषण सहयोग गर्नेसमेत योजना रहेको केन्द्रका निर्देशक गिरी बताउँछन् । केहीले खानाको व्यवस्थापन, केही होटेल तथा रेष्टुरेन्टले आइसोलेशन कक्ष निर्माणलगायत सहयोग गरेका छन् । यसरी सहयोग पाउँदा बिरामीको आत्मबल बढेको तथा स्वास्थ्यकर्मीमा समेत उत्साह थपिएको बताइएको छ ।
