USAID

अन्तिम खेलमा च्याम्पियन इन्टर मिलानको फराकिलो जित


प्रज्जवल थापा । च्याम्पियन इन्टर मिलानले लिगको अन्तिम खेलमा फराकिलो जित निकालेको छ । आइतबार बेलुकी सिरि ए अन्तर्गत सान सिरोमा भएको अन्तिम खेलमा इन्टरले उडिनेसेलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन अस्लि योङ, क्रिस्टेन इरिकसन, लौटारो मार्टिनेज, इभान पेर्सिक र रोमेलु लुकाकुले समान एक/एक गोल गरे । उडिनेसेको लागि रोबर्टो पेरेराले एक गोल फर्काए । पहिलो हाफको आठौं मिनेटमा योङले गोल गर्दै इन्टरलाई खेलमा अगाडि बढाएका थिए । ४४ औं मिनेटमा इरिकसनले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।

५५ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अगाडि बढाएका थिए । ६४ औं मिनेटमा पेर्सिकले गोल गर्दै घरेलु टोलीलाई ४-० गोलको अग्रता दिलाए । ७१ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई ५-० गोलले अगाडि बढाए । ७९ औं मिनेटमा पेरेराले उडिनेसेको लागि सान्तवना गोल गरे । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इन्टर ५-१ गोलले विजयी भएको हो ।

जितसँगै इन्टरले ३८ खेलबाट ९१ अङ्क जोड्दै लिगको उपाधि उचालेको छ । पराजित उडिनेसे ३८ खेलबाट ४० अङ्क जोड्दै १४ औं स्थानमा यथावत छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *