USAID

संसद विघटन अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने सुनियोजित षड्यन्त्रः विवेकशील साझा


काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन तथा नयाँ निर्वाचनको घोषणा अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुरानै आकांक्षाको सुनियोजित निरन्तरता भएको बताएको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरी कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधि, अक्सिजन, अस्पताल–शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता भएको बताएका हुन् ।

सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेछ भन्ने विवेकशील साझा पार्टीको विश्वास छ । साझा पार्टीले अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार छन्। परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परिरहेको छ । अघिल्लो पटक संसद् विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन के कति स्वार्थले एक ठाउँ उभिन सकेनन्? ओली र भण्डारीको सर्वसत्तावादबाट मुलुकलाई जोगाउन विपक्षी दलहरू कहाँ कहाँ र कसरी चुके? यो प्रश्नको इमानदार जवाफ उनीहरूले दिनुपर्छ।’

सझाले प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठपूर्ण ढङ्गबाट लोकतन्त्रविरुद्ध गरिरहेको निरन्तर प्रहारको एकबद्ध भएर विरोध गर्न सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *