USAID

अन्तिम खेलमा रियल म्याड्रिड र बार्सिलोना विजयी


प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको अन्तिम खेलमा दुवै रियल म्याड्रिड र बार्सिलोनाले जित हात पारेका छन् । यस्तै एथ्लेटिको म्याड्रिडलेपनि अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोलले पराजित गर्दै आठ वर्षपछि घरेलु लिगको उपाधि जितेको हो ।

अन्तिम खेलसम्म उपाधि होडमा जिवित रहेको रियल म्याड्रिडले भिल्लारियललाई २-१ गोलले पराजित गरेपनि उपाधि जित्नको लागि पर्याप्त रहेन । एथेल्टिकोले रियललाई २ अङ्कले पछि पार्दै लिग जितेको हो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा र लुका मोड्रिकले एक/एक गोल गरे । भिल्लारियलको लागि येरेमी पिनोले एक गोल गरे ।

पहिलो हाफको २० औं मिनेटमा जेरार्ड मोरिनोको पासमा पिनोले गोल गर्दै भिल्लारियललाई खेलमा अगाडि बढाएका थिए । ८७ औं मिनेटमा रोड्रिगोको पासमा बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा बेन्जिमाको पासमा मोड्रिकले गोल गर्दै रियललाई २-१ गोलको जित दिलाए । जितसँगै रियल म्याड्रिडले ३८ खेलबाट ८४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

यस्तै कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनालेपनि अन्तिम खेलमा रेलिगेसनमा परेको इबारलाई १-० गोलले पराजित गर्यो । बार्सिलोनालाई जित दिलाउन एन्टोनी ग्रिजमनले ८१ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै बार्सिलोनाले ३८ खेलबाट ७९ अङ्क जोड्दै तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित इबार लिगको पुछारमा रहँदै दोस्रो डिभिजनमा घटुवा भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *