सत्ता स्वार्थले जसपा एकता धरापमा

काठमाडौँ । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए । सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने देखिएको छ । ठाकुरले पार्टीको लेडरप्याडमा प्रधानमन्त्री ओलीलाई समर्थन गरेको बेहोरा उल्लेख गर्दै हस्ताक्षर गरेका छन् । त्यस्तै जसपा संसदीय दलको नेताको हैसियतमा राजेन्द्र महतोले पनि संसदीय दलले ओलीलाई समर्थन गरेको बेहोराको पत्रमा हस्ताक्षर गरेका छन् ।

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन् । एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ । ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । ३२ जनामा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि पर्छन । यादव र भट्टराईको समर्थन पनि आफूलाई भएको दाबी ओलीको छ । तर, भट्टराई र यादवले कुनै पनि हालतमा ओलीको पक्षमा जान नसकिने बताएका छन् ।

यादव नयाँ सरकार गनका लागि नेपाली कांग्रेसका सभापति देउवाको पक्षमा बहुमत पुर्‍याउन शुक्रबार दिनभर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगका बैठकमा सहभागी भए । कांग्रेस संसदीय दलको कार्यालयमा यादवले बैठक गरे भने नजिकै रहेको पूर्वराजपा संसदीय दलको कार्यालयमा ठाकुर र महतोले अर्को बैठक गरे । देउवालाई समर्थन गर्ने पार्टी कार्यकारिणी समितिको निर्णय भएको अध्यक्ष यादवले बताए । ओलीको पक्षमा ठाकुर र महतो लाग्नु दुभाग्र्यपूर्ण भएको यादवको भनाइ छ । ‘उहाँहरू (ठाकुर र महतो) तटस्थ बस्छौं भन्नुहुन्थ्यो । तर ओलीलाई प्रधामन्त्री बनाउन चिठी बोकेर जानु भयो’, यादवले भने, ‘यस्तो हुनु दुभाग्र्यपूर्ण हो ।’ यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

ठाकुरले शुक्रबार विज्ञप्ति निकाली शनिबार बोलाइएको कार्यकारिणी समितिको बैठक कोरना महामारीका कारण स्थगित भएको जनाएका छन् । ठाकुरले विज्ञप्ति निकालेलगत्तै यादवले अर्को विज्ञप्ति निकाली शनिबार बस्ने कार्याकारिणी समितिको बैठक स्थगित नभएको जनाएका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा २८ जना रहेको दाबी गरिएको छ । त्यसैले कार्यकारिणी समितिको बैठक बोलाउन ठाकुर पक्षले आलटाल गर्दै आएको छ । वैशाख १४ गते बोलाइएको कार्यकारिणी समितिको बैठक ठाकुर पक्षका सदस्यले बहिष्कार गरेका थिए । अध्यक्ष यादवले पार्टी नीतिविपरित जाने ठाकुर पक्षका नेताहरूलाई कारबाही हुन सक्ने बताए । उनका अनुसार कारबाहीको विषयमा शनिबार बस्ने कार्यकारिणी समितिको बैठकमा छलफल हुनेछ । ठाकुर पक्षले पनि ओलीलाई समर्थन गर्ने पार्टीको निर्णय भएको दाबी गरेको छ ।

जसपा स्रोतका अनुसार ३२ सदस्यीय संसदीय दलमा ठाकुर पक्षमा १९ र यादव पक्षमा १३ सांसद छन । तर ठाकुर पक्षले आफ्नो पक्षमा २० जना सांसद रहेको दाबी गर्दै आएको छ । ठाकुर पक्षका नेता उमाशंकर अरगरैयाले प्रधानमन्त्री ओलीले जसपाका माग पूरा गरेकाले आफूहरूले उनलाई समर्थन गरेको बताए । ‘ओलीले हाम्रा माग पूरा गर्नु भएको छ । त्यसैले हामीले उहाँलाई समर्थन गरेका हौं’, अरगरैयाले भने । आफ्नो पक्षमा २० जनाभन्दा बढी सांंसद रहेको उनको दाबी छ ।

जसपाले राखेका मागहरूमध्ये जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता दिने निर्णय प्रधानमन्त्रीले गरेका छन् । यसका लागि सरकारले अध्यादेश ल्याएको छ । यसैगरी संविधान संशोधनका लागि मस्यौदा बनाउन दुवै पक्ष रहनेगरी कार्यदल गठन गरिएको छ । कार्यदलमा जसपाबाट सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण तथा सरकारतर्फबाट अग्नि खरेल, कृष्णभक्त खरेल र विष्णु रिमाल छन् । सरकारले यसअघि नै मधेस आन्दोलनका क्रममा १२० जनालाई लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । ठाकुर र महतोले बिहीबार राति ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । जसपा स्रोत भन्छ, ‘बिहीबार राति भएका भेटमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने सहमति ठाकुरले गरेका हुन् ।’ दुई अध्यक्षले कार्यकर्ताको मनोभावनाविपरीत सत्ता स्वार्थमा गतिविधि गर्दा पार्टी एकता धरापमा परेको एक नेताले बताएको समाचार नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *