USAID

राष्ट्रपतिबाट फेरि प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गते चुनाव गर्ने घाेषणा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन गरेकी छन् । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२ः५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा भएको हो ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले मध्यराति १ बजेर ४९ मिनेटमा सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको उल्लेख गरिएको हो ।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए । तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो । विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए ।

फागुन २३ सुरु भएको पुनःस्थापित संसद्को अधिवेशन डेढ महिनासम्म चल्यो । यो बीचमा पटकपटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन । विपक्षीहरू अविश्वास प्रस्तावका लागि अलि तात्दै गर्दा गत वैशाख ६ मा सरकारले पुनःस्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो । त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदै ओलीले विश्‍वासको मत लिन संसद्को अधिवेशन बोलाएका थिए ।

 

याे पनि,

मन्त्रिपरिषद बैठकको निर्णयः संसद भंग गरी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *