गणेश थापा । कोरोना भाइरसको संक्रमणका कारण नेपाल उद्योग बाणिज्य संघका एक हस्तीको अन्त्य भएको छ । कास्कीको पोखरा बस्ने संघका केन्द्रीय सदस्य रूपनारायण भुजेलको कोरोना संक्रमणबाट आज निधन भएको हो ।
दुई हप्ताअघि स्वास्थ्यमा समस्या देखिएपछि सोही ठाउँको एक प्रइभेट अस्पतालमा भर्ना भएका भूजेलको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार सुरू गरिएकोमा अक्सिजनको मात्रा अत्यन्तै न्यून देखिँदै गएको भन्दै सिकित्सकको रायअनुसार दुई दिनअघि मात्रै भेन्टिलेटरमा सारिएकोमा आज मध्यान्ह भुजेलको मृत्यु भएको हो ।
नेपाल मदिरा व्यावसायी संघ पोखराका निवर्तमान अध्यक्षसमेत रहेका भुजेल पोखरा उद्योग बाणिज्य संघका सदस्य थिए । नेपालका प्रतिष्ठित उद्योग व्यावसायहरू चौधरी ग्रुप, खेतान समूह, अग्रवाल समूह, फुलबारी रिसोर्ट, सुमी डिस्टिलरी प्रालिलगायत कयौं महत्वपूर्ण उद्योग प्रतिष्ठानमा प्रमुख प्रशासनिक अधिकृत र म्यानेजरको रूपमा काम गरेका स्वर्गीय भुजेल हाल नेपाल मदिरा व्यावसायी महासंघको केन्द्रीय सदस्यसमेत थिए ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट पछिल्लो समय नेपाल निकै प्रभावित बनिरहेको छ । कोरोनाको यस महामारीले पोखराका एक प्रतिष्ठित व्यावसायी समेत रहेका ५९ वर्षीय उनको कोरोनाबाट जोगिन अरूलाई समाजमा सन्देश प्रवाह गर्दागर्दै आज आफैँ भने यो दुष्ट भाइरसको शिकार हुनुपर्यो ।
स्वर्गीय भुजेलका श्रीमती र दुई छोराहरूमध्ये जेठो छोरा हाल अस्ट्रेलियामा छन् । उनको निधनबाट स्तब्ध बनेको उद्योग बाणिज्य संघ पोखराले जनाएको छ ।
कोरोना भाइरसले पछिल्लो समय कुन मानिसलाई कतिवेला झुक्याउने हो ठेगान कसैको छैन भन्दै सवैलाई सजग र सुरक्षित रहन स्वास्थ्य क्षेत्रका विज्ञहरूले आग्रह गरेका छन् । उनीहरूले घरमै बसेर अत्यावश्यक सेवाका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मीलगायतलाई सहयोग गरी उनीहरूको मनोवल बढाउन र संगसंगै आफू बचेर आफ्ना आफन्त र समाजलाई समेत जोगाउन अपिल समेत गरिरहेका छन् ।