शङ्कर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा तीन करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । शङ्कर ग्रुप र इन्फिनिटी होल्डिङ प्रालिले तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ती दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

समूहले वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवालले कोरोना महामारीको समयमा राज्यलाई परेको अप्ठ्यारोमा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिए ।

उक्त समूहले केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी गरिरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शय्याका लागि ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन गर्नेछ ।

दुवै समूहको सहकार्यमा वीर अस्पतालको नयाँ भवनमा ५० शय्याका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शय्याका साथै त्यसका लागि आवश्यक सामग्री हस्तानान्तरण गरेको जनाएको छ ।

शङ्कर र इन्फिनिटी समूहले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तानन्तरण गर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका लागि ३२० थान तथा कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पतालका लागि १००/१०० थान सिलिण्डर हस्तान्तरण गरिने छ । समूहले सुदूरपश्चिम प्रदेशका लागि एक लाख ५० हजार थान मास्क र २०० थान पीपीइ सेट सहयोग गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *