कर्णालीमा मुख्यमन्त्री शाहीद्वारा मन्त्रिमण्डल पुनर्गठन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनले बुधबार दुई मन्त्रालयमा नयाँलाई अवसर दिँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । जसअनुसार रुकुमका सांसद गोपाल शर्मालाई आर्थिक मामिला मन्त्री बनाइएको छ भने विन्दमान विष्टलाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि आर्थिक मामिला मन्त्रीमा नेकपा एमालेका प्रकाश ज्वाला थिए । मुख्यमन्त्री शाहीले बैशाख ३ गते प्रदेश सभामा मागेको विश्वासको मतमा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेर शाहीलाई जिताएका थिए । पार्टी ह्वीप उल्लंघन गरेको भन्दै एमालेले ज्वालासहित ४ सांसदलाई कारबाही गरेको छ। त्यसयता सो मन्त्रालय रिक्त थियो ।

त्यसैगरी, माओवादी केन्द्रबाटै जुम्लाका सांसद रहेका नरेश भण्डारीले सम्हालेको आन्तरिक मामिला मन्त्रालयमा माओवादी केन्द्रकै विन्दमान विष्टलाई जिम्मेवारी दिइएको छ। शर्मा र विष्टले आजै पद तथा गोपनीयताको शपथ लिँदैछन् । आन्तरिक मामिला मन्त्री भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई शाहीले प्रदेश सरकारबाट हटाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *