कोरोनाको असर नगदेबालीमा : भण्डारमै थन्किए अलैँची र अदुवा

किरण पौड्याल, इलाम । कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो ।

चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि नाका बन्द छन् ।

अहिले नेपालमा उत्पादित अलैँचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरे बताउँछन् । “बजार त डामाडोल भएको छ । कसरी विस्तार गर्ने पत्तो छैन”, उनले भने । घिमिरेका अनुसार अबको तीन महिनामा नयाँ अलैँची उत्पादन हुन्छ । नयाँ अलैँची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन । त्यसै पनि पछिल्लो समय अलैँचीको बजार खस्किएको छ ।

“अहिले किसानले ल्याएको अलैँची लिन सक्ने तागत हामीमा छैन । प्रति मन (४० किलो) को २४ हजार रुपैयाँका दरले दामकाम गरिदिने गरेको छ”, घिमिरेले भने, “झापा भएर जाने हो अलैँची । झापामै पनि कोरोनाको जोखिम धेरै छ । यो जोखिम मोल्न सक्ने सामथ्र्य छैन ।” अहिले भारत अलैँचीको मुख्य बजार हो । यसैले पनि भारतले राखेको बजार मूल्यमा किसान÷व्यवसायीले फसल बेच्नुपर्छ ।

भारतमा समस्या आएपछि नेपाली वस्तुले बजार पाउँदैन र कम मूल्यमा बुझाउनु पर्छ । भारतले कृत्रिम झमेला निकाल्ने गर्छ । “यतिबेला कोरोनाका कारण मान्छे मरिरहेका छन् । हामीले हाम्रो उत्पादित सामग्री बेच्न पाऊँ भन्न पनि सक्दैनौँ”, इलाम बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले भने, “पूरै वस्तु भण्डारण गरेर बस्नु परेको छ ।”

अलैँचीको मात्र होइन अदुवाको समेत हविगत फरक छैन । अलैँचीजस्तै अदुवा निकासी हुने मुख्य सिजन यही हो तर निकासी शून्य छ । “बच्चा अदुवा अहिले भारतमै उत्पादन हुने भएकाले नेपाली अदुवाको भाउ छैन”, व्यवसायी मातृका घिमिरेले भने, “भारतमा अदुवाको माउ नझिक्ने भएकाले त्यो बेला चाहिँ राम्रै भाउ आउँथ्यो तर यो बेला डामाडोल भयो ।”

किसानले अदुवा रोपिएको केही समयमा पुरानो (जिली) अदुवा निकालेर बेच्ने गर्छन् । यसो गर्दा बच्चा वा नयाँ अदुवा बढ्ने गर्दछ तर भारतमा भने यसो गरिँदैन । पुरानो अदुवाको सिजनमा भाउ पाइने गर्छ ।

अदुवाको नयाँ उत्पादन अबको दुई महिनामा हुन थाल्छ । त्यसैले पनि अहिले नै व्यवसायीले आफूसँग भएको अदुवा बेचिसक्नु पर्छ । यस पटक कोभिडका कारण व्यवसायी निराश बनेका छन् ।

अहिले नयाँ अदुवाको भाउ ८०० रुपैयाँ प्रतिमन छ भने बिउ अदुवा प्रतिमन दुई हजार रुपैयाँ छ । यो मूल्य सामान्य अवस्थाको भन्दा कम हो । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली अदुवा र अलैँचीको परिमाण बर्षेनि घट्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *