भैरहवामा दिल्लीको दृश्यः संक्रमणको अवस्था विकराल

भैरहवा । अस्पतालका शैय्या भरिएका छन् । संक्रमित अस्पताल बाहिर छट्पटिदै छन् । आफन्तको रुवाबासी छ । उपचारका लागि गुहार गर्दैछन् । कोही संक्रमितलाई ह्विलचेयर बसालेर डुलाउँदै छन् । अक्सिजन सकिएर कोही सिलण्डर गुडाएर लग्दैछन् । भारतकै यस्तो दृश्य हामीले टेलिभिजनमा केही दिनअघिसम्म हेर्दै आएका थियौँ । तर, यो दृश्य भारतको नभई भैरहवाको हो । रुपन्देही जिल्लामा संक्रमणको अवस्था विकराल भइसकेको छ ।

संघीय र प्रदेश सरकार राजनीतिमा व्यस्त छ भने स्थानीय सरकारहरुलाई वास्तै छैन । जिल्लामा संक्रमणको रोकथामका लागि निषेधाज्ञा लगाइएको छ । तर, प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्ने नाममा सबै किसिमका उद्योग र सार्वजनिक गाडी संचालनमा छुट दिँदा संक्रमण झनै फलिएको छ । जसको परिणाम सर्वसाधारण संक्रमित भएर ज्यान गुमाउनु परेको छ ।

अवस्था यति भयावह छ संक्रमण फैलिनुका साथै सर्वसाधरणले भटाभट ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा जारी निषेधाज्ञाको अवधिको सात दिनमा मात्र ५२ जना संक्रमितले ज्यान गुमाएका छन् भने ३ हजार सात सय ४२ जना संक्रमित भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ भने २ सय ३३ जनाको मृत्यु भएको छ ।

कोभिड अस्पतालका शैय्याहरु भरिएका छन् । एउटा शैय्याका लागि संक्रमित छट्पटिनु परेको छ । उपचारको अभावमा मृत्युवरण गर्नेको संख्या बढ्न थालेको छ । रुपन्देहीमा भारतको दिल्लीको अवस्था देखिन थालेको छ ।

भैरहवाको सरकारी भीम अस्पतालमा शैय्याको अभावमा संक्रमितको उपचार समस्या देखिएको छ । अस्पताल आएका संक्रमितको उपचारका लागि शैय्या अभाव भएपछि भुइँमै अक्सिजनको सहारा लिएर बस्नुपर्ने बाध्यता छ । निजी अस्पताल संक्रमितको उपचारमा आनाकारी गरिरहेका छन् । कतै भनसुन गरेर भर्ना गरे पनि मनपरी शुल्कले ढाँड सेक्दै छन् ।

अस्पतालमा आफन्तको रुवाबासी भएपछि अक्सिजन सहारामा भएपनि भुइँमै उपचार गर्न बाध्य भएको भीम अस्पतालका सूचना अधिकृत नारायण पोखरेलले जानकारी दिए । ‘अक्सिजन सहितको शैय्या बिरामीले भरिभराउ भएपछि आएका बिरामीलाई भुइँमै उपचार गर्न बाध्य छौँ’, सूचना अधिकृत पोखरेलले भने, ‘अस्पतालमा जटिल अवस्थाका संक्रमित आउनेको संख्या बढ्दो छ, संख्या अझै बढ्दै गएमा र हामी यस्तै रहेमा उपचार गर्नमा समस्या पर्छ ।’

भीममा अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि अक्सिजन सहित २७ वटा शैय्या छन् । अस्पतालमा हाल ४१ जना संक्रमित उपचारत छन् । जसमध्ये चारजना आईसीयूमा, १८ जना एचडीयूमा छन् भने बाँकी आकस्मिक कक्षमा उपचारत छन् ।

कोभिड बिरामी निको वा मृत्यु भएपछि मात्र शैय्या खाली हुन्छन् । शैय्या खाली भएपछि मात्र अर्को संक्रमितले शैय्यामा उपचार पाउन्छन् ।

अस्पतालमा जनशक्ति अभाव

अस्पतालमा जनशक्तिको पनि अभावले समस्या उत्पन्न भएको छ। अस्पतालमा अहिले कोभिड डेडिकेटेड चारजना मेडिकल अफिसर, २ कन्सलटेन्ट र १४ नर्सिङ स्टाफ छन् । यस अतिरिक्त ५ जना कार्यालय सहयोगी र ५ जना प्यारामेडिक रहेको तथा जनशक्तिको थप गर्ने तयारी भइरहेको सूचना अधिकृत पोखरेलले बताए ।

समाजिक अभियन्ता प्रयाख्त बन्जाडेले भीम अस्पतालले हालसम्म विभिन्न कठिनाइका बाबजुद पनि बिरामीको उपचार गरिरहेको बताए । उनले अस्पतालमा जनशक्ति अभाव लगायत समस्या देखिएकोले राजनीति गर्नमा व्यस्तमा रहेको प्रदेश सरकार राजनीतिलाई थाती राखेर संक्रमितको उपचारमा ध्यान दिनुपर्ने सुझाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *