प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गर्नु लोकतन्त्रमाथिको निर्मम प्रहारः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बोलाउनु हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएको बताएका छन् ।

ट्वीट गर्दै रावलले प्रधानमन्त्रीले संविधानको धारा ९३(१) र १००(१) को अपव्याख्या गरी बैठक बोलाइएको बताएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ९३(१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएको छ । यो प्रतिनिधिसभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो । सबैमा चेतना भया !’

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक आहवान गरेकी छन् ।

नेपालको संविधानको धारा १०० (१)मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ । सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णय नलिए पनि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय लिएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *