कोरोनाकाे दाेस्राे लहरः तीन दिनमा ७२ जनाको मृत्यु

काठमाडौँ । दैनिक तीब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तथ्यांकअनुसार गत चौविस घण्टामा १६ जनाको मृत्यु भएको हो ।

त्यस्तै शनिबार १४ र शुक्रबार ५ जनाको मृत्यु भएको थियो । यसै गरी यो तीन दिनभित्र थप ३७ जना मृतकमा संक्रमण पुष्टि भएको छ । यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ । हाल नेपालमा दैनिक मृत्युदर १ दशमलव ५ प्रतिशत पुगेको छ।

गत २४ घण्टामा संक्रमणदर बढेर ३० दशमलव ९७ प्रतिशत पुगेको छ । यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो । गत २४ घण्टामा १० हजार ७८ वटा नमुना परीक्षण भएका थिए । नेपालमा कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । देशभरिमा १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन् । तीमध्ये २ सय ५२ जना आइसियुमा, ६५ जना भेन्टिलेटरमा र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जनाको उपचार भइरहेको छ । संक्रमित हुनेमा सबैभन्दा बढी युवा उमेरका छन् । मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके, रूपन्देही र पर्सा गरी नौ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

दैनिक संक्रमण दर वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजित बजेटअनुसार हाइडिपेन्डेन्सी युनिट तयार गरेनगरेको तस्बिरसहित जानकारी गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ। काम नभएको अवस्थामा बजेट फिर्ता लैजाने मन्त्रालयले जनाएको छ ।

पहिलो कोरोना संक्रमणको अवधिमा भन्दा अहिले तीव्र रूपमा संक्रमणदर बढेका कारण मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । गत वर्ष कोरोना संक्रमण दैनिक ४ देखि ५ हजार पुगे पनि मृत्यु हुनेको संख्या कम थियो ।

यसपटक युके भेरियन्टको भाइरसका कारण पनि बिरामीमा सिकिस्त हुने दर बढेपछि मृत्यु हुनेको संख्या पनि बढेको गौतमले बताए । ‘ हामीले भनिरहेका छौं, अहिलेको नयाँ भेरियन्टको स्वरूप पहिलेको भन्दा कडा देखिन्छ, यो कारण पनि संक्रमण भइसकेपछि निको हुन सजिलो छैन’, उनले भने।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा विमल पाण्डेले भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएबाट सिकिस्त बिरामीको संख्या बढेको र सोही अनुसार मृत्युदर बढ्ने स्थिति रहेको बताए। गत वर्ष दैनिक १५ हजार परीक्षण गर्दा ५ हजारसम्म संक्रमित हुने गरेकोमा यो वर्ष आठ÷नौ हजार परीक्षणमै तीन हजारभन्दा बढी संक्रमित भेटिएको उनले बताए ।

‘नयाँ भेरियन्ट चाँडो फैलिरहेको देखिन्छ’, उनले भने । दुई सातामै संक्रमण दर उच्च भएसँगै आइसियु र भेन्टिलेटरमा बिरामी पुगेको उनले बताए । ‘भेन्टिलेटरमा पुग्नु भनेको जीवनमरणको दोसाँध हो’, उनले भने ।

सरकारले जनस्वास्थ्य मापदण्ड कडाइपूर्वक पालना गर्न आदेश दिए पनि उल्लंघन हुनाले संक्रमणदरमा दैनिक वृद्धि भइरहेको डा गौतमले बताए । खुला नाकाको कारणभन्दा पनि दैनिक भइरहेका सभा, सम्मेलन, गोष्ठी, बिहेभोजजस्ता गतिविधिका कारण संक्रमण बढिरहेको गौतमको विश्लेषण रहेको समाचार नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *