अदालतको आदेशविपरीत पत्रकार पक्राउ गरिएको भन्दै महासंघको आपत्ति, रिहा नगरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौँ । नेपाल पत्रकार महासंघले अदालतको आदेशविपरीत उज्यालो नेटवर्क अनलाइनका सम्पादक र महाप्रबन्धकलाई पक्राउ गरिएकोमा विरोध जनाउँदै तत्काल निःसर्त रिहाईका गर्न माग गरेको छ ।

महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निःसर्त रिहाइ र यस्ता कार्य तत्काल बन्द गर्न सरकार र मातहतका निकायसँग माग गरेका छन् ।

पत्रकार र महाप्रबन्धक तामाङ पक्राउ घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट पारेको विज्ञप्तिमा उल्लेख छ । ’पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनी पत्रकार तामाङसहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ ।

साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भए पनि त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रतामाथि नै प्रहार गरेको महासंघको ठम्याइ छ । पक्राउ परेकाहरुको तत्काल रिहाइ नगरे महासंघ आन्दोलनमा जान बाध्य हुनेसमेत चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *