काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर कोभिड महामारी नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रदेखि गाउँ तहसम्म सरकारी संयन्त्रसँग समन्वय गरी अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले कोभिड महामारी नियन्त्रणमा जुट्न निर्देशन दिएको जानकारी दिए । ज्ञवालीकाअनुसार बैठकमा कोभिड महामारीको पछिल्लो अवस्था र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल भएको थियो ।
शनिबार बसेको सीसीएमसीको बैठकका निष्कर्षका बारेमा बैठकमा छलफल भएको र रेम्डेसिभिर औषधि खरिद गर्ने, अक्सिजनका नयाँ सिलिण्डर ल्याउने लगायका विषयमा छलफल भएको ज्ञवालीले बताए ।
उनले अब सरकार देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको र हटस्पटमा मात्र लकडाउन हुने बताए । उनले भर्खर तंग्रिदै गरेको अर्थतन्त्रलाई फेरि पछाडि धकेल्ने गरी लकडाउन नगरिने बताए । उनले जिल्ला जिल्लामा हेल्थ डेस्क राख्ने, संक्रमणका जोखिममा रहेका समूहलाई क्वारेन्टाइनमा राख्ने, होल्डिङ सेन्टर बनाएर राख्ने र गाउँगाउँमा जागरण अभियान संचालन गरिने बताए ।
बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागिएकोबारेमा पछि छलफल भएको थियो । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको र कर्णालीको जस्तो फ्लोर क्रस हुन सक्ने भएकाले त्यसका बारेमा समीक्षा भइरहेको ज्ञवालीले जानकारी दिए ।