USAID

इतिहासकै कठिन परिस्थितिमा नेता नेपाल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेताकार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ । जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरूले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न दबाब बढेको हो ।

‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ । माधव नेपाल आफैं पनि यो विषयमा मौन देखिनुभएको छ । पार्टी विभाजन गरेर माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन’, नेपाल पक्षका एक नेताले भने । उनका अनुसार नेता नेपालको इमानदारीसामु धेरै नेता नतमस्तक भए पनि पार्टी विभाजन गर्ने विषयमा भने सहमत छैनन् ।

माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माधव नेपाल समूहसँग चाँडै नै पार्टी एकीकरण हुने भनाइ केही दिनअघि सार्वजनिक गरेका थिए । यसैबीच नेपाल पक्षधर केही नेता ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् । ओली समूहले सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको थियो। बैठकमा नेपाल समूहका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेयाङ्बो र सोम मिश्र सहभागी भए ।

यसअघि नै नेपाल पक्षधर नेता लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत ओली पक्षमा लागेका थिए । नेपाल पक्षका सोमप्रसाद पाण्डे, गणेश पहाडी, यज्ञराज सुनुवारलगायतका नेताले पार्टी विभाजन गर्नु हुँदैन भन्ने मत राखिरहेका छन् । ‘धेरैजसो नेताले पार्टी विभाजनको विपक्षमा मत जाहेर गरेका छन् तर पनि पार्टीमा एकता नरहने अवस्था छ यो निकै विडम्बना हो’, नेपाल पक्षका एक नेताले भने ।

नेपाल पक्षधर धेरैजसो नेताकार्यकर्ता पार्टी विभाजन गर्न नहुने पक्षमा रहे पनि विवाद सल्टाउन गरिएका प्रयास असफल भइरहेका छन् । पार्टीभित्रको विवाद मिलाउन नेपाल पक्षका नेता योगेश भट्टराईले चारबुँदे प्रस्ताव अघि सारेका थिए । उनले ओली र नेपाल दुवैले आआफ्ना कमजोरीबारे आत्मआलोचना गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक राख्ने, माओवादीबाट आएका नेतालाई स्वतः केन्द्रीय सदस्यमा मनोनयन गर्ने र महाधिवेशन आयोजक कमिटी बनाएर देशव्यापी रूपमा वैचारिक मन्थन गर्ने प्रस्ताव राखेका थिए ।

उनले यही प्रस्तावमा केन्द्रित रहेर ओली पक्षधर शंकर पोखरेललगायतका नेतासँग छलफल पनि अघि बढाएका थिए तर ताप्लेजुङमा उनी निकटका नेतालाई ओली समूहले प्रलोभन देखाउन थालेपछि संवाद बन्द भएको थियो । ‘ओली पक्षले एकएक गर्दै नेपाल पक्षका नेता चोर्न थालेको छ । त्यसमाथि माओवादीसँग पार्टी मिलाउने भनेपछि अधिकांश नेताले नेपालको साथ छाड्ने सम्भावना छ । अहिले आन्तरिक संघर्षका लागि र समानान्तर कमिटी गठन भनेका कारण नेपाललाई साथ दिएका हुन् । विभाजन हुने अवस्था आउँदा अहिलेकै हाराहारीका नेताकार्यकर्ता नेपालसँग जान कठिन छ’, नेपाल पक्षका एक नेताले भने ।

उनका अनुसार २०६४ सालमा तत्कालीन माओवादीलाई हेर्ने दृष्टिकोणमा ओली र नेपाल एकै ठाउँमा थिए । उनीहरूले माओवादीविरुद्ध प्रहार गर्ने रणनीति लिएका थिए । कालान्तरमा ओलीले माओवादीसँग एकीकरण गरेर नेपाल पक्षलाई पेल्न थालेपछि मात्रै दुई नेताबीचको सम्बन्ध बिग्रेको थियो । ‘ओलीले चुनावी प्रयोजनका लागि माओवादीसँग एकीकरण गरे । त्यही एकीकरण माधव नेपाल र माओवादी नेताहरूबीच सम्बन्ध बलियो बनाउने कडी बन्यो । जसले गर्दा पार्टी विभाजनको अवस्थामा पुग्यो । यसले नेताकार्यकर्तालाई राजनीतिक दुर्गतितर्फ उन्मुख गराएको छ । यो राम्रो कुरा भएन । यसमा माधव नेपालले सोच्नुपर्छ’, ती नेताले भने ।

एक महिनाअघि नेपाल पक्षका केन्द्रीय सदस्य विजयकुमार पौडेलले एमालेभित्र ओलीले टिक्न नदिने र आउँदो निर्वाचनमा पनि ओलीले टिकट दिने सम्भावना नभएकाले अर्को पार्टी खोल्नुपर्ने आशयको राजनीतिक प्रतिवेदन सो समूहको केन्द्रीय कमिटी बैठकमा पेस गरेका थिए । उनको प्रस्ताव बैठकले अस्वीकार गरेको थियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने, समानान्तर कमिटी गठन गर्ने निर्णय गर्दै दुईमहिने कार्यक्रम घोषणा गरेको थियो । त्यसपछि खनाल–नेपाल समूहले सातवटै प्रदेश इन्चार्ज तोकेर समानान्तर कमिटी बनाउन थालेको थियो । नेपाल पक्षले ६७ वटा जिल्लामा समानान्तर कमिटी बनाइसकेको समाचार राजधानी दैनिकमा छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *