हामी छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्दै गएको छः प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले आफ्ना नेता कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् । ‘मुलुकको तरल राजनीतिका कारण हामी छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्दै गएको छ । यसका लागि हामीले हाम्रो पंक्तिलाई हमेसा तयारी अवस्थामा राख्नुपर्छ ।’ ओलीले प्रतिवेदनमार्फत निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै भनेका छन् ।

२१ पेजमा समेटिएको प्रमुख ६ वटा बुँदामा केन्द्रित राजनीतिक प्रतिवेदनमा पार्टी एकता, फुटको कारण तथा वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आगामी दिनमा लिनुपर्ने महत्तवपूर्ण कार्यभार समेटिएको छ । साथै सरकारले गरेका सफल कार्यसमेत प्रतिवेदनमा समेटिएको छ । एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अध्यक्ष ओलीको प्रतिवेदन सुझावसहित पारित भएको जानकारी दिए ।

प्रतिवेदनमा आगामी कार्यभारका रूपमा तीनवटा कुरालाई मुख्य जोड दिइएको उनले बताए । जसमध्ये निर्वाचनमा जानुपर्ने परिस्थिति रहेकाले तयारी अवस्थामा रहन उल्लेख गरिएको छ । ‘कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसका निम्ति तम्तयार हुनका निम्ति पार्टी पंक्तिलाई आह्वान गरिएको छ’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।

यस्तै पार्टी निर्माणका काम, पार्टीलाई नयाँ धरातलमा पुनर्गठित गर्ने विषय, पार्टीलाई कमजोर पार्न अनेक गतिविधि गरिरहेका साथीलाई फर्काउने प्रयासलगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए । एमालेलाई देशको नेतृत्वदायी शक्तिका रूपमा विकास गर्न पार्टी निर्माणको शुद्धीकरण तथा सुदृढीकरणको विषयमा अध्यक्ष ओलीले जोड गरेका छन् ।

समृद्धिको अभियानलाई तीव्रता दिन तीनै तहका सरकार थप सक्रिय हुनका निम्ति प्रतिवेदनमा आग्रह गरिएको छ । ‘विभाजनकारी गतिविधिमा लागेका साथीलाई ती गतिविधि बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनका निम्ति प्रतिवेदनले आह्वान गरेको छ । नफर्के त्यो कारबाहीको विषय बन्ने कुरा उल्लेख गरिएको छ’ ज्ञवालीले भने ।

प्रतिवेदनका प्रमुख अंशः

– कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध हुन नदिने षड्यन्त्र
– माओवादी केन्द्र अवसरवादमा लिप्त, निष्ठाको समस्या
– पार्टी कब्जा गर्न खोज्दा समस्या
– संसद्लाई अस्थिरताको थलो बनाउने प्रयास
– भ्रमबाट मुक्त भई फर्कनेलाई उचित जिम्मेवारी
– पृथकतावाद र हिंसात्मक द्वन्द्वको अन्त्य
– विकासशील देशमा स्तरोन्नति र आशालाग्दो आर्थिक वृद्धि
– महत्त्वपूर्ण सूचकांकमा उत्साहजनक प्रगति
– भरपर्दो बाह्य सम्बन्ध
– दीर्घकालीन महत्त्वका पूर्वाधार निर्माण

प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै भनिएको छ, ‘राजनीतिक परिस्थितिको निष्कर्षका रूपमा प्रतिनिधिसभा पुनःस्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याको समाधान हुने सम्भावना एकदमै कम देखिएको छ ।’

ओलीले प्रतिवेदनमा सर्वोच्च अदालतले कानुनी हिसाबले पार्टी एकता टुंग्याएको भए पनि राजनीतिक र संगठनात्मक रूपमा पहिल्यै विभाजित भएको उल्लेख गरेका छन् । ओलीले आफू नेतृत्वको सरकारको ३ वर्षे कार्यकालको समीक्षा गर्दै सरकारले मत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

‘पार्टी एकीकरणको हाम्रो मनसाय सही थियो । तर, केही गलत प्रवृत्ति र पात्रका कारणले एकीकरण असफल भयो । सर्वोच्च अदालतले कानुनी हिसाबले टुंग्याइदिए पनि वस्तुतः राजनीतिक र संगठनात्मक कारणले पार्टी एकीकरण चाहिँ पहिल्यैदेखि करिब–करिब भंगको अवस्थामा थियो भन्ने हाम्रो निष्कर्ष छ’, ज्ञवालीले भने ।

यसैगरी ओलीले संसद्को प्रमुख विपक्षी नेपाली कांग्रेस गुटैगुटले अन्योलग्रस्त बन्न पुगेको विश्लेषण गरेका छन् । नेकपा विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आँकलन गरिरहेको कांग्रेसले ताजा जनादेशको पक्षमा पनि दृढतापूर्वक उभिन नसकेको आरोप ओलीको रहेको छ ।

२३ फागुनपछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रधानमन्त्रीबाट ओलीलाई विस्थापन गर्ने र एमालेलाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित रहेको निष्कर्ष एमालेको रहेको छ ।

‘ऊ विदेशी शक्तिका लागि कम्फर्टेबल सरकार बनाउन तयार छ । प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलको ढोकामा पुग्छ । आफू नेकपा (एमाले) समेतको समर्थनबाट विजयी भएको तथ्यलाई लत्याउँदै राजनीतिक स्थायित्वका पक्षमा उभिएका नेतालाई कारबाही गर्छ । बेलाबेलामा प्रचण्डबाट प्रकट हुने ‘अर्को जनयुद्ध, अर्को विद्रोहका अभिव्यक्ति हतास अभिव्यक्तिबाहेक केही होइनन्’, अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्र बाह्य शक्तिको आडमा मुलुकमा राजनीतिक अस्थिरता फैलाउन उद्यत रहेको निष्कर्ष एमालेको छ । जातीय–क्षेत्रीय द्वन्द्व चर्काएर राजनीतिक अभीष्ट पूरा गर्ने र प्रत्येक राजनीतिक दलभित्र विभाजन ल्याउने माओवादी केन्द्र केन्द्रित रहेको निचोड प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘यसबाट आफ्नो स्वार्थसिद्धि गर्न अभ्यस्त यसका नेता यी दाउपेच निष्प्रभावी हुँदै गएका कारण अतालिएका छन् । प्रचण्डले सुरू गरेको अस्थिरताको खेलको नकारात्मक असर प्रदेश सरकारमाथि पर्न थालेको छ । हतास बन्दै गएको माओवादी केन्द्रको भूमिका आगामी दिनमा झनै विध्वंसात्मक र नकारात्मक हुने एवं विभिन्न शक्ति केन्द्रका लागि सहयोगी हुने सम्भावना छ । यस्ता अवसरवादी र हानिकारक प्रवृत्तिको आलोचना गर्दै माओवादीभित्रका सकारात्मक पक्षलाई एकतावद्ध बनाउने प्रयासलाई जारी राख्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

राजतन्त्र पुनःस्थापनाको असम्भव माग र पश्चगामी राजनीतिको पक्षमा रहेका केही समूह÷दल पनि क्रियाशील रहेको निष्कर्ष एमालेको रहेको छ ।

यता कर्णाली प्रदेशमा पार्टीको निर्णयविपरीत ‘फ्लोर क्रस’ गर्न लगाएको आरोपमा बैठकले २० जनालाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको नेकपा स्रोतले जनाएको समाचार राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *