नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताएका छन् । अर्थ मन्त्रालय सोमबार आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताए ।

उनले तराई मधेशमा विखण्डनको नारा लगाउने सिके राउतलाई सरकारको पहलमा नै मूलधारमा ल्याइएको र पछिल्लो पटक नेत्रविक्रम चन्द समूहसमेत शान्तिपूर्ण गतिविधिमा आएकाले शान्ति सुरक्षाका सम्बन्धमा कुनै पनि चिन्ता गर्नुपर्ने अवस्था नभएको उल्लेख गरे ।

अर्थमन्त्रीले पौडेलले गैरआवासीय नेपालको छरिएर रहेको पूँजीलाई एकीकृत गरेर देशभित्र लगानी गर्न आग्रह गर्दै कानूनी, नीतिगत एवं अन्य समस्या भए त्यसलाई समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे । गैरआवासीय नेपालीले प्रवद्र्धन गरेका आयोजना अन्यभन्दा फरक र नमूनायोग्य हुनुपर्नेमा जोड दिँदै उनले पूँजी र प्रविधि भित्राउने दूतको रुपमा क्रियाशील हुन आग्रह गरे ।

उनले गैरआवासीय नेपालीको छरिएर रहेको सानो सानो पूँजीका अलावा विदेशी लगानीकर्ताको पुँजी र प्रविधि ल्याउनका लागि क्रियाशील हुन आग्रह गरे । अर्थमन्त्री पौडेलले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी ल्याउन र नेपालमा लगानीमैत्री वातावरण छ भन्ने तथ्यलाई प्रचारप्रसार गर्न अनुरोध गरे

सो अवसरमा अर्थमन्त्रीले गैरआवासीय नेपालीले नेपालको भौतिक पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रका लगानी गर्ने ध्येयका साथ १० अर्ब पुँजी भएको एनआरएन डेभलपमेन्ट फण्ड लिमिटेडको औपचारिक शुभारम्भ गरे । सो फण्डमा सरकारको पाँच प्रतिशत लगानी रहनेछ । उक्त कम्पनीको सञ्चालक समितिमा व्यवसायी उपेन्द्र महतो अध्यक्ष छन् ।

यस्तै अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक सदस्यको रुपमा चयन गरेको छ । अन्य सञ्चालक सदस्यहरूमा कुमार लम्साल, जीवा लामिछाने, डा बद्री केसी, सोनाम लामा, महेश श्रेष्ठ, गौरी जोशी रहेका छन् । शनिबार मात्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा पूर्वबैंकर अनलराज भट्टराईलाई चयन गरिएको थियो ।

हाल कम्पनीले दर्ता प्रक्रिया अगाडि बढाएको र संस्थापकबाट रकम जुटाउने काम गरिरहेको छ । एनआरएनएका अनुसार हालसम्म करिब तीन अर्ब बराबरको रकम जम्मा भइसकेको छ । सो कम्पनीमा १०० बढी संस्थापक सदस्य रहनेछन् । कार्यक्रममा अर्थ सचिव शिशिर ढुङ्गानाले सरकारले लगानीका लागि सबै प्रकारको सहजीकरण गरेको र केही टुङ्गो लगाउनुपर्ने विषय भए त्यसलाई सम्बोधन गरिने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले गैरआवासीय नेपालीको अभियानलाई आआफ्नो स्थानबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाए । कम्पनीको काम कारवाहीका बारेमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त, कम्पनीका अध्यक्ष महत्तो र प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी गराएका थिए ।

सो कम्पनीले गैरआवासीय नेपालीका लागि प्राथमिक शेयर बिक्री गर्ने जनाएको छ । प्रतिकित्ता १० डलरका दरमा शेयर बिक्री गर्ने कम्पनीको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *