परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, ९९ प्रतिशत संक्रमित घरमै

काठमाडौँ । छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ । संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन् । नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र छ ।

प्रदेश २ मा कोरोना संक्रमणको पहिलो लहरमा अधिकतम २० प्रतिशत नमुनामा मात्रै पोजेटिभ देखिन्थ्यो । अहिले परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाका अनुसार पहिलो लहरमा संक्रमण फैलिएको स्थानबाट आउनेलाई क्वारेन्टिनमा राखिन्थ्यो अहिले सीधै घर जान्छन्, समुदायमा जान्छन् ।

भारतबाट फर्किने पनि सीधै घरमा गइरहेका छन् । अहिले परीक्षण गराउन अस्पताल पुग्ने प्रायः कडा लक्षण देखापरिसकेका मात्रै छन् । ‘कोरोना संक्रमण वृद्धिको दरले समुदायमै संक्रमण फैलिसकेको पुष्टि हुन्छ,’ झाले भने । वैशाख मध्यबाट संक्रमितको संख्या अझ धेरै हुने अनुमान छ । गत वर्षको साउन महिनामा यस प्रदेशमा संक्रमण भयावह अवस्था थियो । वैशाख मध्यमा अघिल्लो साउनको झल्को दिने गरी संक्रमण बढ्ने स्वास्थ्य विज्ञहरूको प्रक्षेपण छ ।

प्रदेश २ मा दैनिक संक्रमितको संख्या बढिरहँदा रोकथाम र नियन्त्रणका लागि सरकारी तयारी भने शून्य देखिन्छ । सघन बसोबास भएको यस प्रदेशको जनसंख्या ६० लाख प्रक्षेपण गरिएको छ । प्रदेश सरकारले अहिलेसम्म कोभिड डेडिकेटेड अस्पताल व्यवस्थापन गर्न सकेको छैन । संक्रमित संख्या बढ्दै गए पनि यो प्रदेशमा उपचारका लागि अस्पताल छैन । कुल संक्रमितको ९९ प्रतिशत निजी चिकित्सकको सल्लाहमा घरमा बस्न बाध्य छन् ।

मुख्यमन्त्री लालबाबु राउतले मातहतका मन्त्रालयलाई छिटो अस्पताल र उपचारात्मक बन्दोबस्त मिलाउन निर्देशन दिएका छन् । संक्रमणको पहिलो लहरका बेला सञ्चालनमा ल्याइएका आइसोलेसन सेन्टरहरू संक्रमित घट्दै गएपछि बन्द भए । जिल्ला अस्पतालहरूले पनि आफ्नो आइसोलेसन सेन्टरहरू बन्द गरेको समाचार आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *