झापा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झूटको पुलिन्दा र चरम व्यक्तिवादी मानिस भएकोले उनको विश्वास गर्न नसकिने बताएका छन् ।
झापाको विर्तामोडमा शुक्रबार पार्टी कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूसँग असहमत हुने पार्टी नेता कार्यकर्ताको पत्तासाफ गर्ने निरकुंश र अवसरवादी चरित्र ओलीमा मौलाउँदै गएको आरोप लगाएका हुन् । उनले ओलीलाई राजा ज्ञानेन्द्रको दोस्रो अवतार भएको आरोपसमेत लगाए ।
उनले भने, ‘ओलीको निरंकुशताले कम्युनिष्ट आन्दोलननै बर्बादीतर्फ धकेलियो । हामीहरुले एमालेको एकता बचाउन देशव्यापी अभियान सञ्चालन गरेका छौं तर उनी राजा ज्ञानेन्द्रको दोस्रो अवतारको रुपमा प्रस्तुत हुँदै गएका छन्।’
उनले आफूहरुले ६८ जिल्लामा कमिटी गठन गरिसकेको र बाँकी जिल्लामा पनि छिट्टै घोषणा गर्ने बताए । कार्यक्रममा नेता घनश्याम भुसालले केपी ओलीले झापाली कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको आरोप लगाए ।
उनले केपी ओली चरम व्यक्तिवादी मानिस भएको भन्दै अब नेपाली आमाको कोखबाट यस्तो व्यक्तिको जन्म नहोस् भन्ने कामना गरे । ओलीको राष्ट्रवाद नक्कली भएको टिप्पणी गर्दै भुसालले ओली सत्ताका लागि जेसुकै गर्न पनि तयार हुने बताए ।
