काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व महानिर्देशक कमलप्रसाद रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले रेग्मीलाई बल्खुबाट पक्राउ गरेको हो ।
जेष्ठ नागरिकसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतको जानकारी दिएका छन् । चैत २२ मा रेग्मीकी पत्नी सुष्मा रिजाल रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो ।
राष्ट्र बैंकको निर्देशक पदमा कार्यरत सुष्मा अहिले पुर्पक्षका लागी कारागारमा छिन् । सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोडभन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । २०७६ मंसिरमा मा बुवा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् ।
पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पत्तिको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको आमाले दाबी गरेकी छिन् । आमा शोभाले प्रहरीमा उजुरी गरेपछि त्यसबारे प्रहरीले अनुसन्धान गरेको थियो । चालु मुद्दामा फरार रहेका रेग्मीलाई अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए ।
