सरकार लकडाउन गर्ने पक्षमा छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले लकडाउनको हल्ला चलाएपनि सरकार लकडाउनको पक्षमा नरहेको बताएका हुन् ।

उनले सरकार अरुनै विधिबाट महामारी नियन्त्रणको प्रयासमा लागेको बताए । प्रधानमन्त्रीले महामारी नियन्त्रणका लागि आमनागरिकलाई सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे ।

उनले भने, ‘सरकार लकडाउनको पक्षमा छैन । मैले केही दिनअघि एउटा कार्यक्रममा लकडाउन गर्ने स्थिति आउन सक्छ भन्दा मलाई लकडाउन गर्ने धम्की दियो भनियो । त्यस्तो होइन । कतिपय विकसित देशले महिनौंदेखि लकडाउन गरिरहेका छन् । तर हामीले अब विगतबाट सिकेर लकडाउनमा जाने स्थिति सृजना गर्नु हुँदैन । म कसैलाई धम्की दिने हैसियतको छैन र दिएको पनि छैन।’

उनले कोभिडको महामारी र राजनीतिक अस्वस्थता देखिएपनि २०७७ निरर्थक वर्ष नरहेको दाबी गरे । उनले मेलम्चीको पानी ल्याएर काठमाडौंबासीलाई खुसी दिएको भन्दै त्यसलाई उपलब्धिको रुपमा लिनुपर्ने बताए । उनले आफूहरु जस लिने र श्रेय लिने होडबाजीमा सामेल नरहेको बताए । त्यस्तै हिंसाको बाटो लिएको समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएको भन्दै त्यो ठूलो सफलता भएको बताए ।

प्रधानमन्त्रीले सभामुखले एमसीसी संसदमा टेबल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उने भने, ‘एमसीसी कांग्रेस र माओवादी सरकारमा हुँदा सम्झौता गरेका हुन् । हामीले संसदमा टेबल गरेका छौं तर सभामुखबाट निर्णयार्थ प्रस्तुत गरिएको छैन । प्रस्तुत नगर्ने अधिकार कसैसँग हुँदैन तर मानिएको छैन ।’

प्रधानमन्त्रीले प्रत्येक दिन पाँच किलोमिटर भन्दा बढी सडक निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको दाबी गरे ।
सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको र त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले दिए। उनले अघिल्लो वर्षको तुलनामा यसवर्ष विकासमा गुणात्मक फड्को मार्न सरकार सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *